” व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिइरहेका छौं ” : शिक्षामन्त्री पौडेल

Machchapuchchre

अर्थ राजनीति  ~  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालले औपचारिक र अनौपचारिकसँगै व्यावसायिक र प्राविधिक शिक्षामा पनि जोड दिएको बताएका छन् । थाइल्याण्डमा जारी एसियाका शिक्षा मन्त्रीहरूको सम्मेलनमा भाग लिँदै मन्त्री पौडेलले आजीवन सिकाइलाई औपचारिक र अनौपचारिक शिक्षासँग जोड्नका लागि नेपाल प्रयासरत रहेको बताएका हुन् । देशको उच्च शिक्षालाई प्रविधिमैत्री र व्यावसायिकता उन्मुख बनाउन नेपाल सरकार लागिरहेको स्मरण गराउँदै मन्त्री पौडेलले प्रविधिमैत्री पाठ्यक्रम, शिक्षासँगको तालमेल, दक्ष जनशक्ति उत्पादन र समृद्धिलाई प्राथमिकतामा राखिएको जानकारी गराए । यसका लागि आन्तरिकको साथै बाह्य सहयोगको पनि आवश्यकता रहेको उनले बताए । मन्त्री पौडेलले नेपालको शिक्षा क्षेत्रमा पनि कोभिड–१९ ले ठूलो प्रभाव पारेको र त्यसको तयारीमा नेपाल चुकेको स्वीकार गर्दै अहिले भने अनलाइन शिक्षणको अभ्यास थालेको बताए । भविष्यमा आइपर्न सक्ने त्यस्ता अवस्थालाई मध्यनजर गर्दै अबको शिक्षालाई प्रविधिमैत्री बनाउनतर्फ सरकार लागिरहेको उनको भनाइ छ । यस्तै, मन्त्री पौडेलले नेपालले आगामी जुलाईदेखि विद्यालय शिक्षा क्षेत्र योजना कार्यक्रम ल्याउन लागेको जानकारी दिए । सन् २०३० सम्म कायम रहने यो कार्यक्रममा अहिले भइरहेको शिक्षा प्रणालीलाई अझ सुदृढ बनाउँदै मूलधारका विवाद र विपद घटाउन मद्दत गर्ने उनले बताए । मन्त्री पौडेलले नेपालको संविधानले शिक्षालाई मौलिक हकको रुपमा सूचीकृत गरेको भन्दै ८ कक्षासम्म निःशुल्क शिक्षा उपलब्ध गराइरहेको पनि जानकारी गराए । साथै उनले केही समयभित्रै माध्यमिक शिक्षालाई निःशुल्क गर्न सरकारले तयारी गरेको बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्