अर्थ राजनीति ~ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले दम्भ देखाए एमालेलाई झै ठेगान लगाउने चेतावनी दिएका छन् । नेकपा एमालेले गठबन्धन टुटाउन प्रयास गरिरहेका बेला प्रचण्डले दिएको अभिव्यक्तिले सत्तारुढ गठबन्धन टुट्न लागेको त होइन भन्ने प्रश्न उठेको छ । तर माओवादी र कांग्रेस नेताहरुले भने यसलाई प्रचण्डको दबाव दिने ‘चाल’ भनेका छन् । माओवादीका नेताहरुका अनुसार प्रचण्ड पाँचदलीय गठबन्धन तोडेर नेकपा एमालेसँग मिलेर वाम गठबन्धन बनाउन तयार देखिएका छैनन् । एमाले नेताहरुले अनौपचारिक रुपमा सम्वाद थालेपनि प्रचण्ड अझै पाँचदलीय गठबन्धनकै पक्षमा दृढ छन् ।तर स्थानीय चुनावमा तालमेल प्रभावकारी नभएको मात्र होइन, रुकुम, रोल्पा लगायतका आफ्ना ‘आधार इलाका’हरुमा नेकपा एमालेसँग मिलेर हराउन खोजेकाले कांग्रेससँग असन्तुष्ट पनि छन् । यही अवस्था कायम रहे आगामी प्रदेश र प्रतिनिधिसभा चुनाव आफ्नो अनुकुल नहुने भएकाले प्रचण्डले कांग्रेसलाई दबाव दिने रणनीति लिएको माओवादी केन्द्रका नेताहरु बताउँछन् । माओवादी, एकीकृत समाजवादी लगायतका दलहरुले स्थानीय चुनावमा देशभर गठबन्धन गर्न चाहेका थिए । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि त्यही आश्वासन दिएका थिए । तर थुप्रै पालिकामा तालमेल हुन सकेन । तालमेल भएका कतिपय ठाउँमा ‘भोट ट्रान्सफर’ भएका कारण कांग्रेस उम्मेदवार जित्दा आफ्नो दलका उम्मेदवार हारेको माओवादी नेताहरु बताउँछन् ।
यद्यपि पाँचदलीय गठबन्धन पुरै असफल भयो भन्ने निष्कर्षमा आफू नरहेको उनले सुनाए । ‘जे उद्देश्यका निम्ति गठन भएको हो, त्यो कायमै छ । त्यसकारण गठबन्धन कायमै रहेन छ’, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेका छन्, ‘तर गठबन्धनभित्र हाम्रो संघर्षको स्वरुप बदल्नुपर्ने देखिएको छ ।’स्थानीय निर्वाचनमा माओवादी केन्द्रले कतै गठबन्धनको बलमा त कतै एक्लै चुनाव जितेको छ । १२२ पालिकामा प्रमुख र १२८ पालिकामा उपप्रमुख जितेको माओवादी तेस्रो शक्ति बनेको छ । माओवादी अध्यक्ष प्रचण्ड भन्छन्, ‘१२२ त्यस्तो हो, जोसँग देशको राजनीतिलाई प्रभावित गर्न सक्ने तगत छ ।’ यही तागत देखाएर प्रचण्ड, सत्तारुढ कांग्रेसमाथि दबाव बढाउने रणनीतिमा देखिन्छन् । दम्भ देखाए एमालेलाई झै ठेगान लगाउने चेतावनीको शक्ति त्यही १२२ हो । एमालेमा जस्तै दम्भ कांग्रेसले देखाउँला कि भन्ने डर पैदा भएको भन्दै उनले भनेका छन्, ‘हामीले मिहिनेत गरेर प्रधानमन्त्री बनाएको हो, भइराख्नुस् भन्ने पनि छ । तर एमाले जस्तै अहंकार र दम्भ चुलिएर माओवादीलाई ठेगान लगाउने भन्यो भने एमालेलाई जस्तो ठेगान लगाउने दिन नआओस् ।’