अर्थ राजनीति ~ नेकपा (माओवादी केन्द्र)ले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले आजदेखि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । काठमाडौँमा दुई दिनसम्म हुने कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट, कानुन निर्माणलगायत विषयमा विज्ञले प्रशिक्षण दिनेछन् । पार्टीका शीर्षनेता, पूर्वमन्त्री, पार्टीको विभिन्न विभागका प्रमुख एवं सङ्घीयताविद्, अर्थतन्त्र विज्ञ, पूर्वमहान्याधिवक्ता, स्थानीय सरकार सञ्चालनका विज्ञ, पूर्वप्रशासकलगायतले विभिन्न विषयमा सहभागीलाई प्रशिक्षण दिने माओवादीले जनाएको छ । अघिल्लो कार्यकालमा उत्कष्ट काम गरेका स्थानीय तहका प्रमुखले पनि अनुभव आदान–प्रदान गर्ने कार्यक्रम राखिएको छ । प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, केही स्वन्तत्ररूपमा निर्वाचित उम्मेदवार गरी २६० जनप्रतिनिधि र पार्टीका शीर्षनेता एवं पूर्वस्थायी समिति सदस्य सहभागी हुने माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । उद्घाटनसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले सहभागीलाई राजनीतिक प्रशिक्षण दिनुहुनेछ । पहिलो दिन पूर्वमहान्याधिवक्ता मुक्ति प्रधान, स्कुल विभाग प्रमुख एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेल, सङ्घीयता विज्ञ डा. खिमलाल देवकोटा, स्थानीय तह विभागका प्रमुख उर्मिला अर्याल र पूर्वमुख्यसचिव लीलामणि पौड्यालले प्रशिक्षण दिने कार्यक्रम छ । स्थानीय तहका पदाधिकारी अहिले नीति कार्यक्रम र बजेट निर्माणको तयारीमा छन् । आगामी असार १० गतेभित्र स्थानीय तहले आगामी आवका लागि बजेट प्रस्तुत गर्नुपर्छ । ‘स्थानीय सरकारको कानूनी क्षेत्राधिकार, काम, कर्तव्य र अधिकार’, ‘स्थानीय तहमा स्वास्थ्य र शिक्षा’, ‘सङ्घीयता र स्थानीय सरकार’, ‘स्थानीय तह र सामाजिक न्याय’, ‘स्थानीय सरकार र सुशासन’, ‘स्थानीय तहको नीति, योजना र कार्यक्रम’, ‘स्थानीय अर्थतन्त्रको निर्माण र नेपाली विशेषताको समाजवाद’, ‘स्थानीय तहको लेखा प्रणाली’, ‘स्थानीय तहको बजेट निर्माण’ र ‘स्थानीय तहमा वन, वातावरण र विपद् व्यवस्थापन’लगायत विषयमा प्रशिक्षण दिइने माओवादीले जनाएको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति