२०७२ को विनाशकारी भूकम्प गएको ७ वर्ष पूरा

Machchapuchchre

अर्थ राजनीति  ~  २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा आएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पलाई नेपालमा भूकम्पीय मापन सुरु भएदेखि अर्थात् १९९० सालपछिको सबैभन्दा ठुलो भूकम्प थियो ।  सोमबार (२०७९ वैशाख १२) विनाशकारी भूकम्प गएको ७ वर्ष पूरा भएको छ । यो ७ वर्षको अवधिमा भूकम्पले क्षति अधिकांश संरचनाहरू पुनर्निर्माण भइसकेका छन् भने केही अझै निर्माणकै क्रममा रहेका छन् । कतिपय संरचनाहरूको विनिर्माण गर्नुपरेको छ भने कतिपय संरचनालाई टेकोकै भरमा उभाइएको छ । कतिपय संरचना भने सम्झनाका लागि (जस्तै पुरानो धरहरा) भूकम्पपछिकै अवस्थामा राखिएको छ । विनाशकारी भूकम्पले मध्य क्षेत्र, गोरखादेखि दोलखासम्मको क्षेत्र र यी क्षेत्रका १४ जिल्लामा पुराएको क्षतिले त्यतिबेला धेरैलाई रुवाएको थियो, धेरैको घरबार ध्वस्त बनाएको थियो, कैयनले परिवारका सदस्यसमेत गुमाएर शोकमा बस्नुपरेको थियो । वैशाख जेठको गर्मी, त्यसपछिको झरी र त्यसलगत्तै भएको नाकाबन्दीको मार यतिबेला धेरैले बिर्सिसकेका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका तत्कालीन प्रमुख लोकविजय अधिकारीले गोरखा भूकम्प र त्यसले पारेका असर तथा काठमाडौँ उपत्यकाको जोखिम आदिका विषयमा गरेको अध्ययनकै आधारमा करिब एक वर्ष अगाडि नै विद्यावारिधि गरिसकेका छन् । गोरखा भूकम्पकै सम्बन्धमा अध्ययन र अनुसन्धान गरी विद्यावारिधि प्राप्त गरिसकेका अधिकारीलाई  ‘अब २०७२ को भूकम्प बिर्सिए हुन्छ ?’ भन्दा उनले भने, ‘भूकम्पकै कारण तपाईंहरू र जनताले मलाई सम्झनु नपरोस्, तर त्यतिबेलाको भूकम्प बिर्सिने छुट भने कसैलाई छैन । डा. लोकविजय अधिकारीका अनुसार नेपाल भूकम्पीय जोखिमका दृष्टिले उच्च जोखिममा रहेको राष्ट्र हो । २ हजार ४ सय किलोमिटर लामो हिमालय भू–खण्डको केन्द्रीय भागमा रहेको नेपाल त्यसको एक तिहाइ भूभागमा फैलिएको छ । भारतीय प्लेट र युरेशियाली प्लेटहरू बीचको संघातबाट बनेको यो क्षेत्र भूकम्पीय दृष्टिकोणले संवेदनशील क्षेत्रमा पर्ने अधिकारीले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्