अर्थ राजनीति ~ पर्यटकीय सिजन सुरु भएसँगै नेपालका पर्यटकीय गन्तव्यहरुमा संचालित होटलहरु भरिन थालेका छन्। झन्डै तीन वर्ष कोभिडका कारण ठप्पप्रायः भएको पर्यटकीय गतिविधिहरुमा यसपालिबाट भने बल्ल चहलपहल केही बढेको पर्यटन व्यवसायीहरु बताउँछन्।कोभिड संक्रमण लगभग नियन्त्रणमा आएसँगै आन्तरिकसँगै विदेशी पर्यटकहरुको घुमफिरको क्रम उल्लेख्य रुपमा वृद्धि हुँदै गएको उनीहरुको ताजा अनुभव छ। पर्यटकको घुमफिर बढेसँगै चितवन, सौराहा, धुलिखेल, नगरकोट, पोखरा, लुम्बिनी हुँदै नेपालगञ्जसम्म विभिन्न पर्यटकीय गन्तव्यमा संचालित होटल तथा रेष्टुरेण्टको व्यापार अहिले बढेको छ।पछिल्लो एक सातायता पोखरामा आन्तरिकका साथै विदेशी पर्यटकको समेत भिँड राम्रोसँग बढेको क्षेत्रीय होटल संघका अध्यक्ष विकल तुलाचनले बताए। दुई वर्षअगाडिको तुलनामा यस वर्ष व्यवसायले गति लिएको उनले जानकारी दिए।’होलीयता आन्तरिक र विदेशी पर्यटक झनै बढ्दै गएका छन्। यससँगै विभिन्न कार्यक्रमहरुका लागि पनि होटलको बुकिङ आइरहेको छ,’ उनले भने। उनका अनुसार, विशेष गरी यतिबेला पोखरा मुक्तिनाथ दर्शनका लागि आउने भारतीय पर्यटकको ट्रान्जिट हब बनेको छ। यसबाहेक पश्चिमा मुलुकका पर्यटकहरु पनि आउने क्रम बाक्लिएको पनि तुलाचन बताउँछन्। यतिखेर पोखराका होटलहरुको अकुपेन्सी २५ प्रतिशतभन्दा तल नझरेको स्थानीय होटल व्यवसायीहरुको भनाइ छ। अझ सरकारले रात्रीकालीन व्यवसाय खुला गरेसँगै पोखराको पर्यटन व्यवसायले थप गति लिँदै गएको तुलाचनले जानकारी दिए।यस्तै, क्यासिनो सेवा संचालनमा आएसँगै यतिखेर भैरहवामा पनि अधिकांश होटलको अकुपेन्सी क्रमिकरुपमा वृद्धि हुँदै गएको सिद्धार्थ होटल संघका अध्यक्ष सिपी श्रेष्ठले बताए। उनका अनुसार यतिखेर भैरहवाका होटलहरुको अकुपेन्सी कम्तिमा पनि ३५ प्रतिशत नियमित कायम भइरहेको छ। उनी भन्छन्, ‘नेपालले अब पर्यटकीय गतिविधि चलायमान बनाउन तत्कालका लागि भारतीय पर्यटकलाई नै प्राथमिकता दिन आवश्यक छ। धार्मिकदेखि साहसिक पर्यटनका लागि यतिबेलाको उपयुक्त प्रमुख बजार नै भारत हो।’पर्यटन व्यवसायीहरुले थप आकर्षक प्याकेजहरु ल्याउने हो भने भारतीय पर्यटकको संख्या निक्कै बढ्न सक्ने अनुमान श्रेष्ठको छ। भैरहवामा विशेष गरी मुम्बई, महाराष्ट्र लगायतबाट भारतीय पर्यटकहरु आइरहेका छन्। करिब एक साताको प्याकेज लिएर भैरहवा हुँदै अरु पर्यटकीय गन्तव्यमा पुग्ने योजनाका साथ भारतीय पर्यटकहरु भ्रमणमा आइरहेका पर्यटन व्यवसायीहरुले बताए।अब भैरहवा विमानस्थल संचालनमा आएसँगै श्रीलंका, कुवेतका वायुसेवा कम्पनीले उडान गर्न थाल्ने हुँदा सोपछि पर्यटक थप बढ्ने आशा लिएको संघका अध्यक्ष श्रेष्ठ बताउँछ्न्। आन्तरिक र भारतीय पर्यटकको चहलपहल उल्लेख्य छ। विदेशी पनि पहिलाभन्दा बढेका छन्।’उनका अनुसार सौराहामा संचालित होटलहरुको औसत अकुपेन्सी २५ प्रतिशतभन्दा तल झरेको छैन। विभिन्न एनजीओ आइएनजीओको कार्यक्रमसँगै सप्ताहन्तमा भारतीय र आन्तरिक पर्यटकको चहलपहल बढेका कारण सौराहाको पर्यटन व्यवसायले गति लिइरहेको उनले बताए।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति