” निर्वाचन आयोग र सरकार चुनाव सार्ने षड्यन्त्र गर्दैछन् ” : ओली

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले पनि स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र भइरहेको बताएका छन् । सोमबार पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै ओलीले निर्वाचन आयोग र सत्ता गठबन्धनबीच चुनाव सार्नेबारे अहिले पनि लगातार संवाद भइरहेको दाबी गरे । आयुक्तहरुको नियुक्ति बदर गरिदियो भने निर्वाचन गराउन सक्छ कि सक्दैन भनेर छलफल भइरहेको ओलीले बताए । ‘तीन जनाको मात्र उपस्थितिमा निर्वाचन हुन सक्दैन भन्ने षडयन्त्र भइरहेको छ’, ओलीले भने, ‘षड्यन्त्रको बिल भर्पाइ हुँदैन । त्यसकारण यसको प्रमाण छ भन्ने हुँदैन तर चुनाव सार्ने षड्यन्त्र भइरहेकाे छ ।’ स्थानीय तहको चुनावको तयारीलगायत विषयमा छलफल गर्न बोलाइएको पोलिटब्यूरो बैठकमलाई सोमबार सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् । उनले तोकिएको समयमा निष्पक्ष रुपमा चुनाव गराउने सन्दर्भमा सकारात्मक सङ्केत नदेखिएको पनि बताए । त्यस्ता षड्यन्त्रप्रति सचेत रहन उनको आग्रह थियो । मतपत्रमा चुनाव चिह्नको रङ्ग बदल्ने जस्ता निर्णयमा पनि सत्ता गठबन्धनसँगको साँगगाँठका आधारमा आयोगले एमालेविरुद्ध निर्णय गरेको उनको आरोप थियो । एमालेमा प्रवेशको लहर जारी रहेकाले आगामी चुनावमा आफ्नो पार्टीले एकल बहुमत ल्याएर सरकार चलाउने दाबी गरे । राष्ट्रिय हितको रक्षा र स्वाभिमानलाई अगाडि बढाउन छिमेकीलगायत विभिन्न मुलुकसँग थप सम्बन्ध विस्तारका लागि पार्टी अग्रसर रहेको ओलीको भनाइ थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्