अर्थ राजनीति ~ दोस्रो ‘मधेस आन्दोलन’का क्रममा ‘मधेस विरोधी’ भनिएको नेकपा एमालेले अहिले मधेसमा आफ्नो प्रभाव बढाउने रणनीति लिएको छ । पछिल्लो समय एमालेका शीर्ष नेताहरु मधेसका जिल्लामा व्यस्त हुन थालेका छन् । जनता समाजवादी पार्टीबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा निर्वाचित विजय सरावगी र बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्ताफा अन्सारी केही दिनअघि नेकपा एमालेमा प्रवेश गर्नुले पनि मधेसमा एमालेको प्रभाव बढेको आँकलन गर्न सकिन्छ । त्यसो त,निर्वाचन नजिकिएका कारण विभिन्न दलका नेता–कार्यकर्तालाई आफ्नो दलमा भित्र्याउन होडबाजी चल्नु सामान्य विषय हो । तर,मधेसवादी पृष्ठभूमि बनाएका नेताहरुले कुनैबेला ‘मधेस विरोधी’ भन्ने गरेको दललाई नै रोज्नु अर्थपूर्ण छ । एमालेका नेताहरुको मधेस दौडाहा र मधेसवादी पृष्ठभूमि भएका नेताहरु एमालेमा प्रवेश गर्नुलाई कतिपयले मधेस र एमालेबीचको सम्बन्ध सुध्रिएको अर्थमा व्याख्या गर्न थालेका छन् । विगतमा माओवादीका कारण मधेसमा आन्दोलन चर्केको थियो । केही समय माओवादीको विरोधमै मधेसको आन्दोलन अगाडि बढ्यो । पछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेस आन्दोलनका बारेमा नकारात्मक टीकाटिप्पणी गरेपछि मधेस आन्दोलन ओलीविरुद्ध केन्द्रित भयो । सोही क्रममा आन्दोलनकारीले मधेसमा एमालेलाई निषेध गरे । एमालेले सप्तरीको मलेठमा कार्यक्रम गर्दा भएको झडपमा पाँचजना युवाको ज्यान गएको थियो । संविधान जारी भएपछि मधेस र एमालेको सम्बन्ध दिनदिनै बिग्रिँदै गइरहेको थियो । यो क्रम २०७४/०७५ सम्म चल्यो । त्यतिबेलै पनि एमालेले मधेसमा आफ्नो स्पेस बनाउन नखोजेको होइन तर सफल हुन सकिरहेको थिएन । मधेस मामिलाका जानकार एवं पत्रकार चन्द्रकिशोर भने मधेस र एमालेबीचको सम्बन्ध नसुध्रिएको बताउँछन् ।
जब उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालले ओली नेतृत्वको सरकारलाई समर्थन गरे,अनि विस्तारै ओलीप्रति मधेसको आक्रोश कम हुँदै गयो । उपेन्द्र यादव नेतृत्वको पार्टी ओली नेतृत्वको सरकारमा सहभागी नै भएको थियो भने महन्थ ठाकुर नेतृत्वको राजपाले बाहिरबाट समर्थन गरेको थियो । मधेसको माग पूरा नगरेको भन्दै राजपाले एउटा कालखण्डपछि समर्थन फिर्ता लिएको थियो । उता उपेन्द्र यादवले सरकारलाई निरन्तरता दिइरहे । उपेन्द्र र महन्थले विस्तारै ओलीलाई मधेसमा स्पेस दिन थाले । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधाम भ्रमणमा आए । त्यसबेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पनि जनकपुरधाम जनकपुर गए । त्यसपछि मधेसमा ओलीको आउजाउ बढ्न थाल्यो ।