अर्थ राजनीति ~ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार, सभामुख, अदालत र निर्वाचन अयोग एमालेको विरुद्धमा रहेको आरोप लगाएका छन् । मंगलबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौँमा अखिल नेपाल महिला संघले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार अदालतले मुद्दा जिताइदिएर बनाएको र सभामुख स्वेच्छाचारी भएको दाबी गरे । उनले निर्वाचन आयोगले आगामी निर्वाचनमा हरियो रङ्गको चुनाव चिन्ह राख्ने निर्णय अमान्य हुने बताए । अध्यक्ष ओलीले सरकार, अदालत, सभामुखका साथै निर्वाचन आयोग समेत एमालेको विरुद्धमा लागिरहेको आरोप लगाउँदै आयोगको सो निर्णयबारे पदाधिकारीहरूसँग कुरा गर्ने बताए । उनले के का लागि हरियो रङ्गको चुनाव चिह्न बनाउन लागेको भन्दै प्रश्न गरे । के हिसाबले हरियो चिन्ह राख्ने हो ? अथवा कसैको हरियो चिन्ह देखिने छ, त्यसकारण राख्ने ? आँखा कमजोर हुने जनताले सबै चिन्ह रुखै रुख देखुन् भनेर राख्ने हो ? यदि हैन मिडियाले गलत लेखेको हो भने मिडियाले सच्याउनुपर्छ, यदि आयोगको निर्णय हो भने आयोगले सच्याउनुपर्छ । हरियो सरियो हुँदैन ।’उनले अहिलेको सरकार चुनावबाट आएको नभई मुद्दा जितेर आएको भन्दै व्यङ्ग्य गरे । अध्यक्ष ओलीले सभामुख अग्नि सापकोटाको आलोचना गर्दै सभामुखले मनपरी गरेको आरोप लगाए । उनले सभामुख स्वेच्छाचारी भएको टिप्पणी गर्दै एमालेप्रति विभेद गरेको बताए । सभामुख सापकोटाले तमासा देखाएको आरोप लगाउँदै उनले भने–‘सभामुखको तर्फबाट नियम कानुन भन्ने कुराको कुनै मतलब छैन । स्वेच्छाचारिता, मनपरितन्त्र, कुनै पार्टीको अध्यक्षले ब्यक्तिगत तवरमा गरेको निर्णयका आधारमा सूचना जारी गरिदिने, कुनै पार्टीले केन्द्रीय कमिटीले निर्णय गरेको पार्टीको सरकार ढाल्ने, पार्टी फुटाएर हिँड्ने, प्रतिक्रियावादीहरूलाई फाइदा पुर्याउने, दुई तिहाइको आसपासमा पुगेको वामपन्थी आन्दोलनलाई चकनाचुर पारेर दक्षिणपन्थीहरूको पाउ मोल्न जानेहरूलाई निकालेको पनि सदर नगरी सभामुख बसिरहेका छन् ।’उनले परमादेशबाट मुद्दा जितेर बनेको सरकार एमालेको विरोधी स्वाभाविक भएको बताउँदै मुद्दा जितेर पनि कहीँ सरकार बन्छ भन्दै प्रश्न गरे ।