नारायणकाजी पक्षधरको निष्कर्ष : ” प्रचण्ड अब सुध्रिँदैनन्, सँगै बस्नुको अर्थ छैन ” !

Machchapuchchre

अर्थ राजनीति  ~  अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी संसद्बाट अनुमोदन गरेसँगै सत्तारुढ दल नेकपा माओवादी केन्द्रमा ‘गम्भीर मतभेद’ उत्पन्न भइ पार्टी फुटको संघारमा पुगेको माओवादीकै नेताले बताउन थालेका छन् । एमसीसी अनुमोदन गरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी निर्णयको गम्भीर उल्लङ्घन गर्नुका साथै पार्टीको क्रान्तिकारी छवि समेत धुमिल पारेकाले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा रहिरहन नसक्ने नेता नारायणकाजी श्रेष्ठ पक्षको निष्कर्ष छ । प्रचण्डको पछिल्लो कार्यशैलीलाई लिएर खास गरी माओवादी केन्द्रमा रहेका पूर्व एकता केन्द्र समूहका नेताहरू श्रेष्ठसहित लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना विशंखे, पेशल खतिवडा लगायतका नेताहरू रुष्ट बनेका हुन् । पूर्व एकता केन्द्रका एक नेता भन्छन्, ‘एमसीसी पास भएपछि अव माओवादी क्रान्तिकारी र कम्युनिस्ट पार्टी रहेन, नेतृत्व असक्षम साबित भयो । अध्यक्ष प्रचण्डले दुई दिन अघिसम्म एमसीसी पास गर्न हुन्न भन्नुभयो र दुई दिनपछि आफै पास गर्न लाग्नुभयो, त्यसैले अव यो पार्टीमा बस्नुको कुनै अर्थ छैन भन्ने हाम्रो ठहर रह्यो । बाहिरका वामपन्थी पार्टीहरू विप्लव समूह र मोहन विक्रम नेतृत्वको मसालका नेताहरूले समेत नयाँ ढंगले ध्रुवीकरण थाल्न सुझाव दिएका छन् तर निर्णय भैसकेको छैन ।’ भेलामा सहभागी अधिकांशले अलग पार्टी बनाउनुपर्ने सुझाव दिएको ती नेताको भनाइ छ । ‘फुटको पक्षमा ९० प्रतिशतको आवाज उठ्यो । किनभने प्रचण्डलाई करेक्सन गर्न सकिँदैन र उहाँबाट अव पार्टी बन्दैन भन्ने नै रह्यो’, ती नेताको भनाइ छ । ती नेताका अनुसार पार्टीमा फागुन २० बाट सुरु हुने केन्द्रीय कमिटी बैठक नै बहिस्कार गर्नुपर्ने आवाज समेत उठेको छ । तर केही नेताहरूले उक्त दिन डाकिएको केन्द्रीय समिति बैठक बहिस्कार गर्नुभन्दा त्यही बैठकमा घनिभूत छलफल गर्नु उपयुक्त हुने सुझाव समेत दिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्