भिजिट भिसा : वार्षिक १० लाखभन्दा बढी आय भएमात्र घुम्न जान पाउने

Machchapuchchre

अर्थ राजनीति  ~  सरकारले भिजिट भिसामा विदेश जाने र उतै लुक्ने बिकृति रोक्न कार्यविधि बनाउने भएको छ । झुटो विवरण देखाएर भिजिट भिसामा विदेश जाने र उतै लुक्ने विवरणहरू सार्वजनिक भएपछि सरकारले यस्तो व्यवस्था गर्न लागेको हो । भिजिट भिसाबाट सृर्जित समस्या र समाधानको विषय अध्ययन गर्न गठित कार्यदलले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाउँदै यस्तो व्यवस्था गर्न भनेको छ । मन्त्रालयकै प्रवक्ता फणिन्द्रमणि पोखरेल नेतृत्वको कार्यदलले भिजिट भिसामा कडाई गर्नुपर्ने प्रतिवेदन मन्त्री खाणलाई बुझाएको हो । माघ ११ मा गठन भएको कार्यदलले बुझाएको प्रतिवेदनले वार्षिक १० लाखभन्दा कम आय भएका नागरिक भिजिट भिसामा विदेश जान नपाउने व्यवस्था गर्न भनेको छ । संयोजक पोखरेलले भिजिट भिसाबाट सृजर्ना भएको विकृति रोक्न यस्तो व्यवस्था गर्न प्रतिवेदन बुझाएको बताए । प्रतिवेदनले बुझाएअनुसार सरकारले व्यवस्था गरेमा भिजिट भिसामा विदेश जान वार्षिक १० लाख रुपैयाँ कमाइ हुनुपर्नेछ । उक्त आम्दानीको कर समेत तिरेको हुनुपर्ने र कमाइको ५० प्रतिशत अर्थात ५ लाख बैंकमा निक्षेप हुनुपर्नेछ । यसका साथै, विदेशमा रहेका आफन्तले सिफारिस गरेको अवस्थामा समेत विदेश घुम्न जान सकिने प्रतिवेदनमा उल्लेख छ । भिजिट भिसामा विदेश जानका लागि अध्यागमन विभागको स्वीकृति अनिवार्य गर्न समेत प्रतिवेदनको सुझाव छ । विभागको स्वीकृति लिएपछि मात्रै भिजिट भिसामा विदेश जाने प्रक्रिया थाल्न मिल्ने गरी कार्यविधि बनाउन प्रतिवेदनको सुझाव छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्