गौतम बुद्ध विमानस्थल : क्यालिब्रेसन फ्लाइट फागुन ५ मा, एरो थाइको विमान आउँदै

Machchapuchchre

अर्थ राजनीति  ~  निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको फ्लाइट क्यालिब्रेसन आउँदो फागुन ५ गतेदेखि हुने भएको छ। यसका लागि फागुन ४ गते एरो थाइ कम्पनीले विशेष विमान लिएर आउन लागेको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए। ‘फागुन ५ गतेबाट क्यालिब्रेसन फ्लाइट सुरु गरिनेछ। अहिले कम्पनीले प्राधिकरणमा कार्यरत प्राविधिक जनशक्तिलाई तालिम दिँदै आएको छ,’ उनले भने, ‘क्यालिब्रेसन सकिए लगत्तै नेपाल वायुसेवा निगमको एयरबस-३३० वाइडबडी जहाजमार्फत यो विमानस्थलमा परीक्षण अवतरण गरिनेछ।’ उनका अनुसार निगमको जहाजले काठमाडौं-भैरहवा परीक्षण अवतरण गर्नेछ। यतिखेर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अध्यागमन विभाग लगायत विभिन्न निकाय तयारी अवस्थामा रहेको उनले जानकारी दिए। नयाँ विमानस्थलमा जडान गरिएको उपकरण, लाइट, फ्रिक्वेन्सी लगायत परीक्षण गर्नका लागि यो उडान गर्न लागिएको उनले जानकारी दिए। यो परीक्षणसँगै विमानस्थलमा जडान गरिएको उपकरण सही अवस्थामा रहेको/नरहेको पहिल्याउँदै उपकरण व्यवस्थापन गरिँदै लगिने उनले बताए। यो विमानस्थलमा प्रयोग भएको उपकरण सबै एरो थाइले नै उपलब्ध र जडान गराएको हो। यो विमानस्थल संचालनका लागि नागरिक उड्डयन प्राधिकरणको संस्थागत संरचना तयार भइसकेको उनले जानकारी दिए। उनका अनुसार विमानस्थल संचालनका लागि प्रहरी, भन्सार, अध्यागमन लगायतका निकायले कर्मचारी दरबन्दी निर्धारण गरिसकेको छ। क्यालिब्रेसन फ्लाइट भनेको उडान संचालन तथा व्यवस्थापनका लागि विमानस्थलमा जडान भएका आईएलएस (इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम), भीओआर (भीएचएफ ओम्निडिरेक्सनल रेडियो रेन्ज) तथा अन्य संचार वा नेभिगेसन उपकरण तथा प्रविधिले ठिक ढंगले काम गरिरहेको छ/छैन भन्ने जाँच्न गरिने उडान हो। यतिखेर निर्माणको ९८ प्रतिशत काम सकिसकेको यो विमानस्थल देशको एक मात्र इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम (आईएलएस) भएको विमानस्थल हो। विमानस्थल संचालनयोग्य भएसँगै प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई उडानका लागि ५६ दिने सूचना जारी गर्ने योजना रहेको उनले बताए। पर्यटनमन्त्री प्रेमबहादुर आले र प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले यो विमानस्थल आउँदो बुद्ध पुर्णिमाका दिन संचालनमा ल्याउने घोषणा गरेका छन्।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्