तरलता अभावको सिकारमा घर बनाउनेहरु , नयाँ परियोजनालाई ऋण छैन

Machchapuchchre

अर्थ राजनीति  ~  तरलता अभावका कारण काठमाडौं उपत्यकासहित देशभर नै घर निर्माणमा पनि प्रत्यक्ष असर परेको छ। बैंक तथा वित्तीय संस्थाहरुले घर निर्माणका लागि ग्राहकहरुले मागे अनुसार कर्जा प्रवाह गर्न नसक्दा समस्या परेको व्यवसायीहरुले बताएका छन्। काठमाडौंको धापासी क्षेत्रमा लामो समयदेखि घर निर्माण गरी बिक्री गर्दै आएका श्याम भट्टराईले बैंकले पर्याप्त कर्जा नदिँदा घर निर्माणको संख्या नै घटाउनु पर्ने अवस्था आएको जानकारी दिए। तरलता अभाव अघि वर्षमा ३-४ वटा घर निर्माण गर्दै बिक्री गरिरहेका भट्टराईले कर्जा पाउन गाह्रो परेपछि भने यो वर्ष दुईवटा मात्रै घर निर्माण गरिरहेको बताए।” बैंकबाट पहिलाको जस्तो ऋण पाउन नसकेपछि ६ वटा घर बनाउने योजना रोक्नुपर्‍यो। अहिले जम्मा दुईवटा घर बनाइरहेको छु। बैंकसँग ६० लाख रुपैयाँ ऋण माग्यो भने ३०-४० लाख रुपैयाँ पाउन पनि मुस्किल परिरहेको छ। यताउताबाट पैसा जुटाएर बनिरहेका घर सम्पन्न गर्दैछु,’ उनले भने।  त्यसैगरी, काठमाडौंका विभिन्न स्थानमा व्यक्तिगत घर निर्माण गरिरहेको मेरोघर डटकमले पनि तरलता अभावका कारण आफ्नो ग्राहकहरुले आवश्यक रकम नपाउँदा चाहनाअनुसारको घर बनाउन समस्या परिरहेको कम्पनीका सीइओ विपिन गैरेले जानकारी दिए। घर निर्माण गर्न पैसा जम्मा गरेर बसेकाहरुलाई त्यति ठूलो समस्या नभएपनि कर्जा लिएरै घर निर्माण गर्न खोज्नेहरुलाई भने समस्या परिरहेको गैरेले जानकारी दिए। ५०-६० प्रतिशत मानिसहरुले सकभर पैसा जम्मा गरेरै घर निर्माण गर्ने र बाँकी ४० प्रतिशतले मात्रै बैंकबाट कर्जा लिएर घर निर्माण गरिरहेको जिकिर गर्दै उनले कर्जा लिएर घर बनाउनेहरुको हकमा मात्रै अहिले समस्या रहेको बताए।

पहिल्यै कमिसनिङ भइआएका परियोजनामा कर्जा प्रवाह रोक्ने काम नभएको ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बताए। ‘प्रोजेक्ट चलिरहेको अवस्थामा बीचमा कर्जा बन्द गर्ने वा रोकेर हामीले अप्ठेरोमा पारेका छैनौं। तर, बीचमा आएर म एउटा नयाँ प्रोजेक्ट गर्न लागेको छु भन्यो भने त्यसमा तुरुन्तै हुन्छ भन्ने अवस्था हामी बैंकहरुलाई छैन,’ बज्राचार्यले भने। निर्माण सुरु भइसकेको वा प्रोजेक्टमा कर्जा प्रवाह गर्न बैंक र ऋणीबीच समझदारी भइसकेको अवस्थामा बैंकले आवश्यक कर्जा प्रवाह गरिरहेको बज्राचार्यको जिकिर छ। परियोजनालाई नै संकटमा पार्ने काम आफुहरुबाट नहुने बताउँदै बज्राचार्यले तरलता अभावमा पनि नयाँ घर किन्नेहरुलाई दिइने होम लोन आफूहरुको प्राथमिकतामै रहेको बताए।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्