अर्थ राजनीति ~ कोरोना महामारीमा सबैभन्दा बढी असरमा परेको होटल तथा रेष्टुरेन्ट व्यवसाय हो । कोरोना महामारीको पछिल्लो भेरियन्ट बढेसँगै होटल तथा रेष्टुरेन्टको व्यापार झन सुस्ताएको हो । व्यापार व्यवसाय सुस्ताउँदै गएपछि कतिपय व्यवसायीहरुले घाटा व्यहोरेर होटल तथा रेष्टुरेन्टहरु बेचिरहेको रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेबान)का अध्यक्ष अरनिको राजभण्डारी बताउँछन् । ’ सरकारले पनि पुनर्कर्जा दिए पनि साना व्यवसायीहरुले नपाएका कारण व्यवसायीहरु झन् मारमा परेको उनले बताए । उनले भने, ‘सरकारले व्यवसायीहरुलाई पुनर्कर्जा दिए पनि साना व्यवसायीको पहुँच नपुगेका कारण उनीहरु झन् थप मारमा परे । व्यवसाय नै बेच्नुपर्ने अवस्था आएको छ । विकल्प नै नभेटे पछि कति व्यवसायीहरुले आत्महत्या नै गरे ।’ राजभण्डारीका अनुसार कर्मचारीलाई तलव दिनै पर्यो घरबहाल तिर्नु पर्यो, अझै ९५ प्रतिशत व्यवसायीहरु घरभाडा तिर्न नसकक्ने अबस्थामा पुगेका छन् । घरबेटीले घर खाली गर्न लगाउँछन् । कतिपय व्यवसायीहरुले व्यवसाय सुरु गर्न नपाइ लगानी सबै डुब्यो । एउटा रेष्टुरेण्ट खोल्न लागेको खर्च र फेरी हटाउनु परेपछि त्यहाँको सामान केही काम लाग्दैन नयाँ डेकोरेसन गर्नुपर्ने हुन्छ ।’उनका अनुसार कतिपय ठाउँमा त व्यवसाय सुरु गर्न लगानी गर्दा गर्दै ऋण झन् बढी तिर्नुपर्ने भइसकेको हुन्छ । एक अर्काको अवस्था हेरेर पनि ऋण गरेरै भएपनि व्यवसाय टिकाउन लाग्दा झने ऋणमा डुब्दै गएका छन् । सबैभन्दा पीडित व्यवसायीहरु ठमेल क्षेत्रमा रहेको उनले बताए । यसअघिको लकडाउनमा धेरै नोक्सानी व्यहोर्नू परेको भएपनि यस पटक भने सरकारले पुरै लकडाउन नगरी स्मार्ट लकडाउन गरेका कारण थोरै भएपनि राहत मिलेको उनले बताए । उनी भन्छन्, ‘नाफा नभएपनि नोक्सान पनि धेरैव्यहोर्नु परेको छैन । पुराना व्यवसायीहरुले पहिले कमाएको सञ्चित पैसा पनि सकिसकेका छन् । एउटै व्यवसाय बाट १ करोडभन्दा बढी घाटा व्यहोर्न पर्ने अबस्था आइसकेको छ । तर होटल व्यवसाय सुरु गरेका नयाँ व्यापारीहरुले भने अब यो व्यवसायमा हात नै हाल्दैनन् ।’
कोरोना महामारीले ठूलो प्रशोधन उद्योगहरुलाई भने खासै असर नपरेको उनी बताउँछन् । राजभण्डारी भन्छन्, ‘ लकडाउनले साना व्यवसायीलाई मात्र धेरै असर गरेको ठुलो प्रशोधन उद्योगहरुलाई खासै असर परेको छैन । व्यवसायच चलेमा सरकारलाई नै फाइदा हुने हो । एकदुई वटा व्यवसाय डुब्दैमा माथि उठ्न नसक्ने भन्ने हुँदैन तर सबै व्यवसाय डुबे भने राज्यले पनि ठुलो क्षति व्यहार्ने छ ।’उनका अनुसार पहिले यो व्यवसाय राम्रो चलेको देखेर यहि व्यवसायमा लाग्नेहरु धेरै छन् । त्यस तर्फ पनि सरकारले ध्यान दिनुपर्ने हुन्छ । तर बैंकहरुको ब्याजले गर्दा व्यवसायीहरु धेरै मारमा परेको उनले बताए । ‘बैंकबाट ऋण लिएर व्यवसाय गरेकाहरुलाई बैंकले ब्याज बढाएपछि झन् समस्या भएको छ । एकातिर आम्दानी छैन अर्को तर्फ बैंकले ब्याज बढाइरहन्छ । पहिले धेरै व्यापारीहरु नेपाल मै बसेर केहि गर्न सकिन्छ भन्ने अवस्था थियो । तर यस्तो अवस्था सिर्जना भएपछि धेरै जसो व्यापारीहरु नै बैदशिक रोजगारीमा जानुपर्ने अवस्था आएको छ । यो अवस्थामा व्यापार व्यवसायलाई टिकाउनका लागि सरकारले बैंकको व्याज दुई तीन वर्षमा तिर्न पाउने केही व्यवस्था गरिदिए हुन्थ्यो भन्ने अपेक्षा राखेको उनी बताउँछन् । व्यापार व्यवसाय सुस्ताएको यस्तो अवस्थामा पनि बैंकहरुले नाफा कमाइरहेको बेला हामी व्यवसायीहलाई पनि केही सहुलियत दिए आर्थिक विकासको सन्तुलनलाई कायम राख्न सकिने उनी बताउँछन् । व्यवसायीले ऋण लिएर तिरेको ब्याजले नै बैंकहरुले नाफा कमाएका हुन् । यस्तो परिस्थितिमा उनीहले हाम्रो स्थितिलाई नबुझेमा भोलि बैंकहरु पनि डुब्ने अवस्था आउँछ । उद्योग व्यवसाय नै रहेनन भने । कुनै पनि व्यवसाय टिक्न सक्दैन । कसरी हुन्छ थोरै ब्याजमा ऋण दिएर भएपनि व्यवसाय टिकाउन बैंकहरुले पनि सहयोग गर्नुपर्छ । उनका अनुसार हाल औपचारिक रुपमा तीन हजार होटल तथा रेष्टुरेन्टहरु सञ्चालनमा रहेका छन् । जसबाट १ लाख मानिसले प्रत्यक्ष रोजगारी पाएका छन् ।