अर्थ राजनीति ~ राष्ट्रिय सभाका १९ सिटका लागि बुधवार भएको चुनावमा लगभग सबैमा सत्तारूढ गठबन्धनले जित हात पारेको छ। निर्वाचन आयोगले बुधवार साँझ सार्वजनिक गरेको परिणाम अनुसार गठबन्धनका १८ र विपक्षी नेकपा एमालेका एक जना राष्ट्रिय सभामा निर्वाचित भएका हुन्। रिक्त भएका पदमध्ये ७ महिला, २ अपाङ्ग तथा अल्पसङ्ख्यक, ७ अन्य र तीन दलित ‘क्लस्टर’सँग सम्बन्धित रहेका थिए। हरेक दुई दुई वर्षमा राष्ट्रिय सभाको एक तिहाइ सदस्य रिक्त हुने गर्छन्। यसपालि १९ पदका निम्ति ९ दलका ४३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका थिए। आगामी फागुन २० गते कार्यकाल सकिने राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेका ८ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, नेकपा माओवादी केन्द्रका ४ जना र नेपाली काँग्रेसका ३ जना रहेका छन्। यो निर्वाचनका लागि सत्ता गठबन्धनमा रहेका काँग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाले तालमेल गरेर उम्मेदवार अगाडि सारेका थिए। त्यस अनुसार काँग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५/५, जनता समाजवादीले २ र राष्ट्रिय जनमोर्चाले एक सिटमा उम्मेदवार उठाएका थिए। निर्वाचन आयोगका अनुसार प्रदेश १ बाट नेकपा एकीकृत समाजवादीकी जयन्ती देवी राई, नेकपा एमालेका सोनाम गेल्जेन शेर्पा र नेपाली काँग्रेसका गोपालकुमार बस्नेत विजयी भएका छन्। मधेश प्रदेशबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जसपा नेपालका मोहम्मद खालिद निर्वाचित भएका छन्। बाग्मती प्रदेशबाट नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमिल्सीना र नेपाली काँग्रेसका कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन्। गण्डकी प्रदेशबाट नेपाली काँग्रेसकी कमला पन्त, नेकपा माओवादी केन्द्रका भुवनबहादुर सुनार र सुरेशकुमार आलेमगर चुनिएका छन्। लुम्बिनीबाट नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा र नेपाली काँग्रेसका युवराज शर्मा निर्वाचित भएका छन्। कर्णाली प्रदेशबाट नेपाली काँग्रेसकी दुर्गा गुरुङ्, नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट र नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहरा चुनिएका छन्। सुदूरपश्चिम प्रदेशबाट नेकपा एकीकृत समाजवादीकी गरिमा शाह, नेकपा माओवादी केन्द्रका जगतबहादुर पार्की र नेपाली काँग्रेसका नारायणदत्त मिश्र निर्वाचित भएका छन्। विगतमा जस्तै गठबन्धनबीचको तालमेलका कारण प्रमुख प्रतिपक्षी एमालेले राष्ट्रिय सभामा सिटहरू गुमाउनुपर्यो।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति