“बैंक खाता जनसंख्या भन्दा धेरै भए पनि साक्षरता भने त्यो संख्या हेरेर हुँदैन ” : गभर्नर अधिकारी

Machchapuchchre

अर्थ राजनीति  ~  काठमाडौंमा आयोजित विशेष समारोहकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरता नम्बरमा हेरेर दर ठयाक्कै एकिन गर्न नसकिने बताए । उनले भने, ‘बैंक खाता जनसंख्या भन्दा धेरै भए पनि साक्षरता भने त्यो संख्या हेरेर हुँदैन । वित्तीय साक्षरता सम्बन्धी धेरै कार्यक्रम तथा सामग्रीहरु निर्माण भएपनि अन्य क्षेत्रको विषयमा जस्तो सामाजिक सञ्जालमा खोजेर भेटिँदैन।’वित्तीय साक्षरताका विषयमा सबैलाई सचेत गराउनु एउटा चुनौती छ । सञ्चारमाध्यम नै अग्रसर भएर यो अभियान शुरु हुनु खुसीको कुरा हो ।’ गभर्नर अधिकारीले भने, ‘अब बैंकिङ्ग पहुँचमा आएकालाई बुझाउनुपर्ने र बैंकिङमा आउन बाँकीलाई ल्याउनुपर्नेछ ।’ यस्तै राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले वित्तीय चेतना नहुँदा ऋण तिर्न ऋण लिनुपर्ने बाध्यता रहेको बताइन् । पैसाको सदुपयोग गर्न नजान्दा समस्या हुने गरेको भन्दै पैसाको सही परिचालनको लागि पनि वित्तीय चेतना आवश्यक रहेको बताइन् । बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले ‘बैंकिङ्ग शिक्षा’ कार्यक्रमले शहरमा मात्रै नभएर गाउँ–गाउँमा बैंकिङ्गबारे बुझाउन भूमिका खेल्ने बताए । वित्तीय साक्षरताका विषयमा राष्ट्र बैंक आफैले र बैंकर्स संघले समेत कार्यक्रमहरु गर्ने गरेको भन्दै यो अभियान अझ उपयोगी हुने बताए । डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष प्रद्युमन पोखरेलले वित्तीय साक्षरताले सोचमा नै परिवर्तन ल्याउने बताए । अहिले सोचमा नै परिवर्तन आवश्यक रहेको भन्दै बैंकिङ्ग साक्षरता धेरै आवश्यक रहेको बताए । लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले लघुवित्तमा करिब ५४ लाख ग्राहक संख्या पुगेको र यसमा अधिकांश महिला सदस्यहरू रहेको भन्दै वित्तीय साक्षरता कतिपय अवस्थामा वहाँहरुमा पनि कमि भएको भन्दै बैंकिङ्ग शिक्षा कार्यक्रमले महत्त्वपूर्ण सहयोग पुग्ने बताए । सञ्चारमाध्यमकै अग्रसरतामा यस्तो कार्यक्रम सञ्चालन हुनु सबैका लागि खुसीको विषय भएको बताए ।

साथै कार्यक्रममा बोल्दै स्मार्ट च्वाइस टेक्नोलोजीका अध्यक्ष सुमन पोखरेलले वित्तीय साक्षरतालाई प्रविधिसँग जोडेर लैजानुपर्ने बताए । रेमिटर्स एसोसिएसनका अध्यक्ष चन्द्र टण्डनले विदेशबाट आएको रेमिटान्समात्रै समेत सही सदुपयोग हुन नसकेको बताए । रेमिट्यान्स पठाउनेले पाउने सुविधाका विषयमा समेत धेरैलाई जानकारी नहुने भन्दै बैंकिङ्ग शिक्षा कार्यक्रमले यसमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । नेपाल वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले फाइनान्स कम्पनीहरुलाई फाइनान्स कम्पनी भनेर नामको पछाडि ‘बैंक’ लेख्न दिन माग गरे । साथै सेलिब्रटी बैंकर मनोज ज्ञवालीले पैसाको सही परिचालन गर्न नसक्दा समस्या हुने गरेको बताए । समृद्धि भनेको कुरा किताबमा लेखेर वा भाषण गरेर नहुने भन्दै समृद्धिका लागि बैंकिङ्ग शिक्षा चाहिने उनले बताए । ऋणको सही सदुपयोग नहुँदा समेत समस्या हुने गरेको भन्दै उनले उद्योगी व्यापारीलाई पनि वित्तीय साक्षरताको ज्ञान हुनुपर्ने उनको भनाई थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्