एन्टिबडी बढाउन बुस्टर डोज दिने सरकारको तयारी

Machchapuchchre

अर्थ राजनीति  ~  सरकारले कोरोना भाइरसविरुद्ध बुस्टर डोज खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पुष अन्तिमबाट बुस्टर खोप दिने तयारी गरिएको बताए ।  ‘विश्व स्वास्थ्य संगठनले अनुमति दिएको खण्डमा बुस्टर डोजमा जान चाहन्छौँ,’ उनले भने, ‘सरकार यसमा सजग र तयारी हालतमा छ ।’ पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, जेष्ठ नागरिक र बालबालिका हुँदै सबै नागरिकलाई दिइने उनले बताए । विज्ञहरूले दुई मात्रा खोपले ६ महिना वा एक वर्ष मात्र काम गर्ने भएकाले थप डोज दिनुपर्ने बताउँदै आएका छन् । पूर्ण मात्रा खोप लगाएपछि समयक्रममा शरीरमा एन्टिबडी घट्दै जाने भएकाले फेरि एन्टिबडी बढाउन बुस्टर डोज दिइने बताउँछन्, भाइरोलोजिस्ट डा. शेरबहादुर पुन ।  ‘शरीरमा एन्टिबडी घट्दा फेरि संक्रमणले आक्रमण गर्न सक्छ । त्यसलाई रोक्न बुस्टर डोज दिइने हो,’ उनले भने । हाल लगाइरहेका खोपमा जोन्सन एण्ड जोन्सनलाई पहिलो मात्रा नै पूर्ण मानिएको छ भने अन्य खोपलाई दोस्रो मात्रा मानिएको छ । त्यसैले पहिलो मात्रा पूर्ण मानिएकालाई दोस्रो मात्र लगाउनुपर्ने र दोस्रो मात्रा पूर्ण मानिएकालाई तेस्रो मात्रा लगाउनुपर्ने हुन्छ । नेपालमा कोभिसिल्ड, भेरोसेल, जोन्सन, अस्ट्राजेनेका,मोडर्ना र फाइजर खोप लगाइएको छ । ओमिक्रोन भेरियन्टको लहर नेपालमा पनि देखा परेकाले जनशक्ति र अस्पताललाई तयारी अवस्थामा राखिएको मन्त्री खतिवडाले बताए  । ‘ओमिक्रोन नामक नयाँ लहर आएको छ । अस्पताललाई आवश्यक जनशक्ति र तयारीमा रहन निर्देशन दिएको छ,’ उनले भने । हालसम्म नेपालमा तीन जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्