अन्तत: हिमालयन बैंक – नेपाल इन्भेष्टमेन्ट बैंक मर्जर निर्णय भयो

Machchapuchchre

अर्थ राजनीति ~  नेपाल राष्ट्र बैंकले दुई पटक समय थप गरिदिएपछि अन्तत: हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने औपचारिक निर्णय गरेको छ। राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएपछि हिमालयन बैंकका तर्फबाट मर्जर प्रक्रिया अवरुद्ध भएको थियो। यही बीचमा बैंक सञ्चालक समितिको अध्यक्ष तुलसीराम गौतमका ठाउँमा प्रचण्डमान श्रेष्ठ आएपछि मर्जर प्रक्रिया रोकिएको थियो। मर्जर रोकिएपछि राष्ट्र बैंकले दुई पटक समय थप गरेको थियो। हिमालयन बैंकको मंसिर १० गतेको सञ्चालक समिति बैठकले मर्जर प्रक्रिया अगाडि बढाउनुपर्ने थियो। तर श्रेष्ठले केही ‘अनावश्यक’ माग राखेर प्रमुख कार्यकारीलाई पत्र लेखेपछि अवरुद्ध भएको थियो। हिमालयन बैंकको आइतबार साँझ भएको बैठकले मर्जर प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। निर्णय सर्वसम्मतिले भएको छ। अब बैंकले आगामी शुक्रबारसम्म २१ दिनको समय राखेर साधारणसभा डाक्ने छ। साधारणसभाको मुख्य एजेण्डामा लाभांशसँगै नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने हुने छ। हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जरमा प्रचण्डमान श्रेेष्ठ (मनोजबहादुर श्रेष्ठसमेत) समूहको समर्थन कहिले पनि थिएन। बाँकी सबै सेयरधनी र राष्ट्र बैंकको चाहनामा मर्जर अगाडि बढेको थियो। मर्जर प्रकृया अवरुद्ध भएपछि राष्ट्र बैंकले हिमालयन बैंकको नगद लाभांश नै रोकिदिएको थियो। उसले एकीकृत कारोबार भएको दिन साबिकको हिमालयन बैंकका सेयरधनीले पाउने सर्त राखिदिएको थियो। यो सर्तविरुद्ध श्रेष्ठ समूहका तर्फबाट एक सेयरधनीले उच्च अदालत पाटनमा मुद्दा हालेका थिए। मुद्दामा उनीहरुले अन्तरिम आदेश पाएनन्, राष्ट्र बैंकको सर्त नै कार्यान्वयन गर्ने बाटो खुल्यो। यसपछि मर्जरमा थप दबाब पर्दै गयो। यो बीचमा राष्ट्र बैंकका अधिकारीहरुले मर्जरमा लैजान अनेक दबाब सृजना समेत गराएका थिए। अन्तत: आइतबारको बैठकले मर्जर प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। दुबै बैंकबीच गत वैशाख ३० गते मर्जरमा जाने सहमति भएको थियो। यता इन्भेष्टमेन्ट बैंकले साधारणसभा सकिसकेको छ। उसले साधारणसभामा मर्जरको एजेण्डा राखेको थिएन। अब उसले विशेष साधारणसभा डाक्नुपर्ने हुन्छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्