अर्थ राजनीति ~ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सोमबार पनि नेपाल बार एसोसिएसनले आफ्नो आन्दोलन जारी राखेको छ । आन्दोलित कानुन व्यवसायीहरू अहिले पनि ब्यानरसहित धर्ना दिइरहेका छन् । यता बारको आन्दोलनलाई निस्तेज बनाउन र न्यायालयको सुरक्षाका लागि भन्दै खटाइएका दंगा प्रहरीलाई सर्वोच्च अदालत परिसरबाट हटाइएको छ । एसएलआरजस्ता अत्याधुनिक हतियारसहित सुरक्षाकर्मी खटाइएको भन्दै बारले विरोध पनि जनाएको छ । कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेको लगायतका आरोप लगाउँदै जबराको राजीनामा मागेर तीन साताभन्दा बढी समयदेखि बार आन्दोलनमा छ ।
यसैबीच. प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि पेसी तोकनु भएको छ । प्रधानन्यायाधीश राणाले चार सय ५४ वटा रिट निवेदन र मुद्दाका लागि १२ वटा इजलासमा पेसी तोक्नु भएको हो । सोमबारका लागि ११ वटा संयुक्त इजलास र एउटा एकल इजलास गठन गरिएको छ । प्रधानन्यायाधीश जबराले आफूलाई भने इजलासमा राख्नु भएको छैन् । अन्य न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग बेन्च सेयर नगर्ने र आफूलाई इजलासमा समेत नराख्न आग्रह गरेपछि प्रधानन्यायाधीश राणाले केही दिनदेखि आफू बाहेकको इजलास गठन गर्दै आउनु भएकाे छ ।