सभापति शेरबहादुर देउवाले अरूलाई सभापति नछाड्ने

Machchapuchchre

अर्थ राजनीति  ~ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि एक कार्यकाल पार्टी सभापति पदमा लड्ने भएका छन्। महाधिवेशन आउन तीन साता मात्रै बाँकी रहँदा देउवाले महाधिवेशनको आन्तरिक तयारी सुरू गरेका हुन्। आफू पक्षका नेताहरूलाई बूढानिलकण्ठ बोलाएर देउवाले एकपटक फेरि आफू नै सभापति उठ्ने भएकोले सहयोग गर्न आग्रह गरेका छन्। सोमबार भएको देउवापक्षको आन्तरिक बैठकमा उपसभापति विमलेन्द्र निधि भने गएनन्। निधि सभापति पदमा उठ्ने तयारी गरिरहेका छन् । सभापतिका अर्का आकांक्षी संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ भने देउवाले बोलाएको छलफलमा गएका थिए। सभापति देउवाले एक कार्यकाल आफू नै सभापति उठ्ने र अर्कोपटक नेताहरूलाई सहयोग गर्ने बताएका थिए। कांग्रेस विधानले नै अर्कोपटक देउवालाई सभापनि बन्न रोक्छ। सभापति देउवा बोलेपछि महामन्त्री पूर्णबहादुर खड्काले कुरा राखेका थिए। उनले पार्टीमा आकांक्षीहरू धेरै हुँदा सबैलाई मिलाएर जानुपर्ने कुरा राखेका थिए। सभापति देउवाले आफूलाई फेरि सभापति जिताउन सहयोग मागेपछि संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले यसपालि सभापति नउठ्न आग्रह गरेका थिए। ‘तपाईंलाई दु:ख परेका बेला मैले सहयोग गरेको थिएँ। निर्विरोध सभापति पनि बनाएको हुँ,’ पुराना कुरा निकाल्दै श्रेष्ठले भनेका थिए, ‘यसपालि सभापति नउठ्नुस्। मलाई सहयोग गर्नुस्।’ श्रेष्ठले सभापति देउवालाई प्रधानमन्त्री भएर काम गर्न आग्रह गरेका थिए। ‘कहिलेकाहीँ छिमेकतिर पनि हेर्नुपर्छ, राम्रा अभ्यास छन् भने सिको गर्नुपर्छ। नरेन्द्र मोदी भारतमा प्रधानमन्त्री छन् उनी पार्टी अध्यक्ष त बनेनन्,’ श्रेष्ठको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईं प्रधानमन्त्री हुनुस्, काम गर्नुस्। सभापतिमा मलाई समर्थन गर्नुस्।’ तर देउवाले यसपालि आफू नै सभापतिका लागि उठ्ने बताएका थिए। श्रेष्ठले देउवा फेरि सभापतिको उम्मेदवार नहुने हो भने टिमभित्र सर्वसम्मत तवरले अगाडि बढ्न सकिने धारणा पनि राखेका थिए। ‘तपाईं सभापति नउठ्ने हो भने विमलजी ले पनि मलाई समर्थन गर्छु भन्नुभएको छ,’ श्रेष्ठको दाबी थियो, ‘टिम पनि एकढिक्का रहन्छ।’ तर सभापति देउवाले बोलाएको आफूपक्षिय बैठकमा उपसभापति निधि भने अनुपस्थित थिए। प्रवक्ता विश्वप्रकाश शर्मा पनि देखिएनन्।

‘केन्द्रीय समिति बैठकपछि नेताहरू जिल्लातिर गइसक्नुभएको छ। केही शीर्ष नेता मात्रै बैठकमा हुनुहुन्थ्यो, बोल्दै निस्कँदै गर्नुभयो,’ छलफलमा सहभागी एक नेताले दाबी गरे, ‘उपसभापति निधि, प्रवक्ता शर्मा सबै सभापति देउवातिरै हुनुहुन्छ, कामले गर्दा बैठकमा आउन नभ्याउनुभएको होला।’ गत कात्तिक २५ मा पनि देउवाले आफू पक्षका नेतालाई बोलाएर सभापतिमा सहयोग गर्न आग्रह गर्दा उपसभापति निधिले मानेका थिएनन्। त्यसदिन निधिले सभापति लड्छु भन्दा देउवाले शुभकामना छ भनेका थिए। सभापति देउवाले महाधिवेशन नजिकै आइसकेकोले टिम बनाएर जानुपर्ने भन्दै आन्तरिक बैठकलाई तीव्रता दिइरहेका छन्। उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा अहिलेदेखि नै तयारी गरेर जानुपर्नेमा देउवा छन्। मंसिर पहिलो सातासम्म सातै प्रदेश र केन्द्रीय सभापतिदेखि पदाधिकारी टिम घोषणा गर्नुपर्नेमा देउवा छन्। कांग्रेसले मंसिर १६ र १७ मा सातै प्रदेशमा अधिवेशन र मंसिर २१ मा मनोनयन गरी मंसिर २४ देखि २६ सम्म १४ औं महाधिवेशन गर्ने तयारी गरेको छ। सभापति देउवाले तलैदेखि आफूपक्षका महाधिवेशन प्रतिनिधि सकेसम्म धेरै ल्याउन नेताहरूलाई आग्रह गरिरहेका छन्। उनले प्रदेश नम्बर १ मा ज्ञानेन्द्रबहादुर कार्की, प्रदेश नम्बर २ मा रमेश रिजाल, बागमतीमा प्रकाशशरण महत, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा पूर्णबहादुर खड्का र जीवनबहादुर शाही, सुदूरपश्चिममा रमेश लेखक र एनपी साउदलगायत नेतालाई जिम्मेवारी दिएको स्रोतको भनाइ छ।यी नेताहरूले मंसिर १६ र १७ मा हुने सातै प्रदेश अधिवेशनमा देउवा पक्षबाट टिम बनाएर उक्त टिमलाई जिताउने जिम्मेवारी पाएको स्रोतको दाबी छ।

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्