अर्थ राजनीति ~ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली सोमबार विराटनगर आएका छन् । बडा दसैँ, तिहार र छठ पर्वको अवसरमा आयोजना गरिने चियापान कार्यक्रमलाई सम्बोधन गर्न उनी दिउँसो विराटनगर आएका हुन् । ओली सहभागी हुने कार्यक्रमका लागि विराटनगर आसपासबाट एमालेका सयौँ कार्यकर्तालाई विराटनगर ल्याइएको छ । कार्यक्रममा ओलीसँगै प्रदेश र केन्द्रका अन्य नेता पनि सहभागी हुने बताइएको छ । अध्यक्ष ओली आजै साँझ काठमाडौं फर्कने कार्यक्रम छ । कार्यक्रममा विभिन्न दलका प्रतिनिधिलाई समेत आमन्त्रण गरिएको छ । कार्यक्रमलाई सम्बोधन गरेपछि ओलीले कार्यकर्तासँग भेटघाट गर्ने एमाले प्रदेश १ का सचिव विनोद ढकालले जानकारी दिए । एमालेले सोमबार आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) भने नजाने भएको छ । ओली सहभागी हुने कार्यक्रममा आफ्नो पार्टीको सहभागिता नरहने नेकपा (एकीकृत समाजवादी) मोरङका प्रवक्ता ओसिम आलमले बताए । कात्तिक १३ मा आफ्नो पार्टीले चाडपर्वको शुभकामना तथा चियापान कार्यक्रम आयोजना गर्दा एमालेलाई पनि आमन्त्रण गरिएको तर एमाले नआएकाका कारण आफू पनि एमालेको कार्यक्रममा नजाने उनको भनाइ थियो । ‘हामीले उहाँहरूलाई निम्तो पठाएका थियौं तर आउनुभएन,’ प्रवक्ता आलमले भने, ‘हामीलाई पनि निम्तो गर्नुभएको रहेछ तर हाम्रो पार्टी त्यहाँ जाँदैन ।’
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति