माधव नेपाल भन्छन् : ” खर्च धेरै भयो, सबै चुनाव एकैपटक गरौं “

Machchapuchchre

अर्थ राजनीति  ~ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तीनै तहको चुनाव एकै पटक हुनुपर्ने धारणा राखेका छन् । उनले छुट्टाछुट्टै चुनाव गर्दा राज्यले ठूलो आर्थिक भार वहन गर्नुपर्ने भन्दै एकैपटक चुनाव गर्नु उत्तम भएको बताएका छन् । पत्रकार महासंघ गण्डकीले शुक्रबार पोखरामा गरेको पत्रकार सम्मेलमा नेपालले सबै चुनाव एकैपटक गर्न पाए खर्च पनि कम हुने र राष्ट्रको सम्पत्ति पनि जोगिने दाबी गरे । ‘एउटा प्रदेशको काम एकैचोटि सम्पन्न गर्ने, अर्को प्रदेशको एकैचोटि सम्पन्न गर्ने । राष्ट्रको सम्पत्ति पनि धेरै जोगिन्थ्यो होला,’ उनले भने, ‘कानुनी हिसाबमा केके अड्चन आउँछन्, थाहा छैन । तर, मेरो दिमागमा त्यो कुरा आइराखेको छ ।’ यद्यपि, नेता नेपालले सबै तहको चुनाव एकैपटक गर्ने विचार नितान्त व्यक्तिगतमात्रै भएको प्रष्ट्याए । कानुनी व्यवस्था र जटिलताबारे गठबन्धनसहित सरोकार निकायसँग आफूले अरुसँग छलफल गर्न नपाएकोसमेत उनले सुनाए ।

विवादमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको विषयमा आफू अनविज्ञ रहेको अध्यक्ष नेपालले जिकिर गरेका छन् । उनले काम विशेषले बाहिर–बाहिर भएकाले त्यस विषयबारे आफूलाई जानकारी नभएको दाबी गरेका हुन् । उनले प्रधानन्यायाधीशलाई विवादमा ल्याउने काम एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सुरु भएको समेत आरोप लगाए । उनले भने, ‘उहाँले (ओली) अनेक किसिममा जालझेल, तिगडम गर्नुहुन्छ । सबैले (प्रधानन्याधीससहित ५ जना) राजीनामा दिनुपर्छ भनेर न्यायिक क्षेत्रको हुर्मत लिन खोज्दै हुनुहुन्छ ।’ओलीले कसैको मानसम्मान नगर्ने सिस्टम भत्काउँदै हिँडेकाले न्यायिक क्षेत्र समस्यामा परेको नेपालको जिकीर छ । ‘यो महाअभियोगको कुरा हामीबीच आएको पनि छैन । छलफल पनि भएको पनि छैन । यो हल्ला हो, हल्लाको पछि कुद्न जरुरी छैन,’ उनले भने । उनले अहिलेको गठबन्धन चुनावसम्मै जाने र एमालेलाई ‘टर्च बालेर’ खोज्ने स्थितिमा पुर्याउने दोहोर्याए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्