अर्थ राजनीति ~ प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बेलायत जादैछन्। कात्तिक १५ र १६ (नोभेम्बर १–२) मा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप–२६ मा भाग लिन प्रधानमन्त्री देउवाको नेतृत्वको प्रतिनिधिमण्डल बेलायत जान लागेको हो। शनिबार प्रधानमन्त्री देउवा लण्डनमा बेलायती सांसदहरुको एक समूह र यूके–नेपाल ट्रेड एण्ड इन्भेस्टमेन्ट फोरमले गर्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। प्रधानमन्त्री देउवाले आइतबार गैरअवासीय नेपाली संघ,भूपू गौर्खा सैनिकहरुको संस्थाका प्रतिनिधि लगायतसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवा सोमबार कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी भएर त्यही दिन वर्ल्ड लिडर्स समिटलाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसपछि प्रधानमन्त्री बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुनुका साथै विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग द्वीपक्षीय भेट गर्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवा कार्तिक १८ गते स्वेदश फर्किने कार्यक्रम रहेको छ।