बुटवल । प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव भएको छ। स्थायी राजधानी र नाम सिफारिस गर्न गठित विशेष समितिले प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गरेको हो। समितिका संयोजक दीपेन्द्रकुमार पुनले प्रदेशका १२ वटै जिल्लाबाट आएका सुझाव र विज्ञ समितिको सुझावका आधारमा राजधानी सिफारिस गरिएको बताए।
समितिले प्रदेशको स्थायी राजधानीका लागि रुपन्देहीको सैनामैना, कपिलवस्तुको बुद्धभूमि वा दाङको भालुबाङ–लमही क्षेत्रलाई प्रस्ताव गरेको छ। प्रदेश ५ को नाम लुम्बिनी नामाकरण गर्ने विषयमा एकमतले सिफारिस गरिएको समितिले जनाएको छ। हाल प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवलमा सञ्चालन हुँदै आएको छ।
‘विशेष समितिले बनाएको प्रतिवेदन पुसको दोस्रो साता शुरु हुने प्रदेश सभाको बैठकमा पेस गरिनेछ,’ संयोजक पुनले भने। राजधानी र नामाकरण संसदको दुई तिहाइ बहुमतले पारित गर्ने संवैधानिक व्यवस्था छ।