योजना आयोग : पर्यटक आगमन पुरानै लयमा फर्कन दुई वर्ष लाग्ने

Machchapuchchre

अर्थ राजनीति  ~  कोरोना भाइरसको महामारीका कारण अतिप्रभावित बनेको पर्यटन क्षेत्र सामान्य अवस्थामा फर्कने अझै दुई वर्ष लाग्ने भएको छ । सरकारले स्वयम्ले यस्तो प्रक्षेपण गरेको हो । राष्ट्रिय योजना आयोगले तयार पारेको मध्यमकालीन खर्च संरचनाको प्रक्षेपणअनुसार पर्यटक आगमन सन् २०१९ कै अवस्थामा फर्काउन अर्को दुई वर्ष लाग्ने छ । आर्थिक वर्ष अनुसार २०७६/७७ मा ११ लाख ९७ हजार जना रहेको पर्यटक आगमन चालु आर्थिक वर्ष २०७७/७९ मा पछिल्लो दुई दशकयताकै सबैभन्दा कम २ लाख ३० हजार जनामा झर्नेछ । आगामी आव २०७८/७९ मा यो संख्यामा सामान्य वृद्धि भई ५ लाख जना सम्म पुग्ने अनुमान सरकारले गरेको छ । त्यसपछिको आर्थिक वर्ष २०७९/८० मा मात्र पर्यटक आगमन ११ लाख रुपैयाँ पुग्ने भएको छ । यो संख्या आव २०७६/७७ मा आएको पर्यटक संख्या हाराहारी हो । १५ औं आवधिक योजनाको अन्तिम वर्ष आव २०८०/८१ मा भने वाषिर्क १५ लाख पर्यटक पुग्ने अनुमान गरिएको छ । सरकारले सन् २०२० मै वाषिर्क २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको थियो । आगामी तीन वर्षमा समेत यो लक्ष्य भने पुरा नहुने स्वीकार सरकारले गरेको छ । उता, निजी क्षेत्र समेत अन्यौल कायम रहेका कारण तत्काल पर्यटन क्षेत्र कसरी अगाडी बढ्छ भन्ने नसक्ने अवस्थामा रहेको छ । होटेल संघ नेपाल -हान का प्रथम उपाध्यक्ष विनायक शाह अहिले यो क्षेत्र कुहिरोभित्र हराएको काग जस्तै भएको बताउँछन् ।

नेपालमा विदेशी मुद्रा भित्राउने मूख्य माध्यम विदेशी पर्यटक मानिन्छन् । स्वयम् पर्यटकबाट हुने आम्दानी भन्दा बढी होटेल, हवाई यातायात, होमस्टे, पर्यटक यातायात र साहसिक पर्यटकीय गतिविधि र कृषिमा यो क्षेत्रले ठूलो योगदान गरेको छ । तर, सरकारसँग कोभिड महामारीका बीच सुरक्षित रुपमा पर्यटक ल्याउने वातावरण बनाउने सम्बन्धमा ठोस रणनीति भने छैन । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकलाई एक महिना अवधिको पर्यटकीय भिषा निःशुल्क प्रदान गर्ने उल्लेख छ । तर, नेपाल आउन सहजिकरण गर्ने सम्बन्धमा सरकारले थप तयारी भने गरेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरु अहिले महामारीको अवस्था हेरी स्वास्थ्य मन्त्रालयबाट प्राप्त हुने स्वास्थ्य प्रोटोकलमै आधारित भई पर्यटक आगमन सम्बन्धी नीति लिनुपर्ने भएकाले ठोस रणनीति नआएको बताउँछन् । बजेटले आन्तरिक पर्यटक प्रवर्द्धन गर्न लिएको सरकारी कर्मचारीको काज बिदालाई मात्र प्रभावकारी बनाउँदा समेत मुलुक भित्र पर्यटकीय गतिविधि भने अगाडी बढ्ने उनीहरुको भनाइ छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी यो कार्यक्रमले पर्यटनलाई जिवित राख्न ठूलो योगदान पुग्ने बताउँछन् । विदेशी पर्यटक आगमन नबढेसम्म पर्यटन बोर्डको आम्दानी समेत बढ्दैन । केन्द्रको सिको गर्दै प्रदेश सरकारहरुले भने पर्यटन काज बिदालाई बजेटमा राखेका छन् । पर्यटन काज विदाले विदेशी पर्यटक नआएसम्मका लागि नेपाल भित्र पर्यटकीय गतिविधि कायम राख्न र व्यवसाय बचाउन योगदान पुग्ने नेपाल एसोसिएसन अफ टूर्स एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाइँ बताउँछन् । व्यवसायीहरुका अनुसार सरकारले कम्तिमा खोपको मात्रा पुरा गरेर  आउनेहरुलाई आगमन सहज गर्ने, क्वारेन्टिनका कडा प्रावधानलाई सहज बनाई परीक्षण बढाइ आगमन सहज बनाउने हो भने आगमन छिट्टै सामान्य हुने बताउँछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्