नरोत्तम वैद्यको मुद्दा फिर्ता लिन कांग्रेसको माग

Machchapuchchre Bank

अर्थ राजनीति  ~  बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति दिएको अभिव्यक्तिका कारण हत्या दुरुत्साहनको मुद्दा चलाइएको भन्दै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोतम वैद्यले बागमती प्रदेशको २०७८/७९ को नीति तथा कार्यक्रमको छलफलका क्रममा जेठ २८ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आफू नाथुराम गोड्से बन्न तयार रहेको आपत्तिजनक शब्द प्रयोग गरेका थिए । सो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि भोलिपल्ट जेठ २९ गते वैद्यले संसदबाटै आफ्नो अभिव्यक्ति फिर्ता लिँदै संसदको रेकर्डबाट हटाउन अनुरोध गरेका थिए । वैद्यको उक्त अभिव्यक्तिले हत्या दुरुत्साहन गरको भन्दै नेकपा(एमाले) मकवानपुरको भातृ संगठन युवा संघ नेपालका एक नेताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मुद्दा दायर गरेका थिए । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले सोमबार पत्रकार सम्मेलन गर्दै प्रदेश सभा सदस्य वैद्यको अभिव्यक्ति नेपाली कांग्रेसको आदर्श, नीति, संसदीय अभ्यास र गरिमा विपरित भएकाले फिर्ता लिन निर्देशन गरेको र लगत्तै फिर्ता लिइसकेपछि उक्त विषय टुंगिइसकेको भन्दै सरकारको दबाब र प्रभाव तथा राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर भएको जनाएको छ । संविधानले दिएको प्रदेश सभा सदस्यको अभिव्यक्ति स्वतन्त्रता तथा संविधानको बर्खिलाप बदनीयतपूर्ण तवरले मुद्धा दर्ता गरिएकाले मुद्धा फिर्ता लिन पनि नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले आग्रह गरेको छ । कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले अभिव्यक्ति फिर्ता लिइसकेको र संसदको रेकर्डबाट समेत हटाइसकिएको अवस्थामा मुद्धा दर्ता भएको प्रति आपत्ति जनाए ।
कांग्रेसले नरोत्तम वैद्यमाथि मुद्दा चलाउनु गैर संवैधानिक कार्य भन्दै संविधानको बर्खिलापमा जान प्रहरी, अनुसन्धान अधिकारी र सरकारको कुनैपनि निकायलाई अधिकार नभएको बताएको छ । मुद्दा तत्काल फिर्ता लिन आग्रह समेत गरेको छ । अन्यथा प्रदेश सभा मार्फत नै शसक्त प्रतिवादमा उत्रिने कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले जनाएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्