अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अबेर मन्त्रिपरिषद् पुनर्गठन गरेपछि शपथ लिएलगत्तै केही मन्त्रीहरुले शुक्रबार राति नै जिम्मेवारी सम्हाले । भोलिपल्ट शनिबार सार्वजनिक विदा भएकाले धेरै मन्त्रीहरु भने आइतबार मात्र सिंहदरबार पुगे ।निषेधाज्ञाका कारण काठमाडौं उपत्यका सुनसान छ । तर सिंहदरबारभित्र भने बेग्लै चहलपहल छ । आइतबार सिंहदरबारमा विभिन्न मन्त्रालय पुग्दा हालै नियुक्त मन्त्रीहरु भने बधाइ थाप्न व्यस्त थिए । सिंहदरबारको दक्षिण गेटबाट प्रवेश गर्नेवित्तिकै बायाँ तर्फ कृषि तथा पशुपंक्षी मन्त्रालय छ । यसको नजिकै अरु दुई मन्त्रालय भौतिक पूर्वाधार र खानेपानी मन्त्रालय छ । सबै मन्त्रालयका अगाडि लहरै गाडी पार्किङ गरिएको छ । मन्त्रालय प्रांगणमा गाडी राख्ने ठाउँ नभएपछि सडक किनारामा पनि गाडी पार्किङ गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयबाहिर गाडीको खासै चहल पहल नभए पनि मन्त्रीको कार्यकक्ष बाहिर भने निकै भीड छ । दुई समूह मन्त्रीलाई भेट्न पालो कुरिरहेको छ । भित्र एउटा समूह मन्त्रीसँग छलफलमा छ ।
मन्त्रीका सुरक्षा अधिकृत ती सैनिकका अनुसार हालसम्म स्वकीय सचिव नियुक्त गरिएको छैन । मन्त्रीको कार्यकक्षभित्र रमाइलो माहोल छ । मन्त्री मियाको काँधमा खादा र माला छ । उनी अगाडिको टेबलमा पनि एक थुप्रो खादा र केही फूलका बुकेहरु छन् ।मन्त्री एकवाल मियाँका अनुसार त्यहाँ गाउँका कार्यकर्तादेखि विभिन्न कार्यालयमा कार्यरत चिनजानका साथीहरु भेट्न आइरहेका छन् । सचिव तथा विभागीय प्रमुखहरुसँग उनले ब्रिफिङ लिइसकेका छन् । राष्ट्रिय खेलकुद परिषद्लगायतको टोलीले पनि उनलाई आइतबार नै बधाई दिएर गयो । ‘आज त भ्याइ नभ्याइ छ, तपाईंहरुसँग केही दिनमा बसेर विस्तृतमा कुरा गरौंला’ मन्त्री मियाँले भने, ‘पहिलो दिन त यस्तै हुने रहेछ ।’ श्रम रोजगार तथा सामाजिक मन्त्रीको जिम्मेवारी पाएका विमल श्रीवास्तव पनि पहिलो पटक मन्त्री बनेका हुन् । यसअघि उनी प्रतिनिधिसभाको श्रम समितिको सभापति थिए । आइतबार मध्यान्ह उनको कार्यकक्षमा पुग्दा उनी सचिव, सहसचिव लगायत उच्च पदस्थ कर्मचारीसँग ब्रिफिङ लिदै थिए । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री उमाशंकर अरगरिया पनि पहिलो पटक मन्त्री बनेका हुन् । उनले शुक्रबार राति नै पदभार ग्रहण गरिसकेका थिए । उनले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सुचीकृत गर्न कार्यदल गठन गर्ने शुक्रबार नै निर्णय गरिसकेका थिए । पदभार गरेपनि उनले सचिव, विभागीय प्रमुख साथै मन्त्रालय मातहतका कार्यालयबाट ब्रिफिङ लिन भने बाँकी रहेछ । उनलाई कर्मचारीहरुले मन्त्रालयको सभाहलमा ब्रिफिङ गरिरहेका थिए । जसपाबाट १० जनालाई मन्त्री बनाए पनि प्रधानमन्त्री ओलीले महत्वपूर्ण मन्त्रालय खाली राखेका छन् ।