अर्थ राजनीति ~ जनता समाजवादी पाटी (जसपा) व्यवहारिक रूपमा फुटिसके पनि प्रदेश २ काे सत्ता साझेदारीमा भने दुवै पक्ष ‘पर्ख र हेर’ को रणनीतिमा देखिएका छन् । यहाँ उपेन्द्र-बाबुराम पक्ष केन्द्रीय राजनीतिमा देखिने परिणामपछि मात्र प्रतिक्रिया जनाउने निष्कर्षमा पुगेकाे छ । आर्थिक वर्ष ०७८/०७९ का लागि प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भएकाले मुख्यमन्त्री लालबाबु राउतले महन्थ-राजेन्द्र पक्षका मन्त्रीलाई तत्काल नहटाउने जसपाका एक नेताले बताए ।‘एकातिर नीति कार्यक्रम र बजेट पास गराउनुपर्ने बाध्यता छ । अर्कातिर, जनताले पनि मधेसवादी दललाई सत्ता संचालनका लागि म्यान्डेट दिएका छन् । त्यसैले अहिले धेरै रिस्क लिने स्थिति छैन’, ती नेताले भने, ‘अबको कदम केन्द्रमा महन्थ ठाकुरजीहरूको गतिविधिमा भर पर्ने हो । उहाँहरूको गलत गतिविधि नराेकिए जे पनि हुन सक्छ ।’प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले केन्द्रमा पार्टी विभाजन हुँदैमा महन्थ ठाकुरनिकट मन्त्री तथा राज्यमन्त्रीलाई हटाउन हतार गर्ने स्थिति नरहेको बताए । ‘जसरी माथि राजनीतिक घटनाक्रम अघि बढ्छ त्यसैगरी यहाँ पनि रणनीति बनाइनेछ’, उनले भने, ‘अहिले नै उहाँहरूलाई हटाउने योजना छैन तर हटाउनै सकिन्न भन्न पनि सकिन्न ।’तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) को संयुक्त सरकार रहेको प्रदेश २ मा पार्टी एकतापछि पनि प्रदेशको संसदीय दल भने समायोजन हुन सकेको छैन । प्रदेशमा दुवै दलको अहिले पनि छुट्टाछुट्टै संसदीय दल, प्रमुख सचेतक छन् । जेठ २७ गते प्रदेश सरकारले नीति कार्यक्रम र असार १ गते बजेट ल्याउँदैछ । नीति कार्यक्रम र बजेट पारित गराउन आफूहरूको भूमिका के हुने अहिल्यै भन्न नसक्ने राजपाका प्रमुख सचेतक परमेश्वर साहले बताए ।‘आजका दिनसम्म हामी सरकारमै छाैँ । बीचमा नाटकीय परिवर्तन भएन भने हामी सरकारको नीति कार्यक्रम, बजेटमा सँगै जान्छौँ’, साहले भने, ‘औपरिचक रूपमा पार्टी अलग भयो वा कुनै क्रिया भयो भने केन्द्रको निर्देशनअनुसार प्रतिक्रिया देखाउनेछौँ ।’ उनले आफूहरूलाई सरकारबाट हटाउने धम्की नदिन उपेन्द्र समूहलाई चेतावनीसमेत दिए ।‘दुवै पार्टीको समान हैसियतमा सरकार बनेकाे छ । कसैले कसैलाई घुर्की लगाउने, धम्की दिने कुरा गर्छ भने ऊ राजनीतिक रूपमा चेतनशील नभएको मानिने छ । बजेट पास गराएर हामीलाई सरकारबाट हटाउने साेचेकाे भए क्रियाको प्रतिक्रिया सामना गर्न तयार भए हुन्छ’, उनले थपे । राजपा संसदीय दलका नेता जितेन्द्र सोनलले आफूहरू ‘पर्ख र हेर’ को स्थितिमा रहेको बताए । विश्लेषक डा. सुरेन्द्र लाभ भने प्रदेश २ काे राजनीतिमा चाँडै केही न केही फेरबदल हुन लागेकाे ठान्छन् । ‘केन्द्रको विभाजनले यहाँ प्रभाव पार्छ नै । नेता कार्यकर्ताद्वारा दुवै तर्फबाट विष बमन भइरहको छ । सरकारले बजेट ल्याउने समय छ । त्यसैले दुर्घटना हुनसक्छ तर त्यसले कुन मोड लिन्छ भन्न सकिन्न’, उनले भने । नीति कार्यक्रम तथा बजेटमा पूर्वराजपाले धोका दिनसक्ने ठानेर उपेन्द्र समूहले विपक्षी गठबन्धनसँग सहकार्य गर्नसक्ने विश्लेषक लाभकाे ठम्याइ छ । १०७ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रको कारबाहीपछि अहिले १०४ सांसद छन् । तत्कालीन संघीय समाजवादी पार्टीका ३०, तत्कालीन राजपाका २५, नेकपा एमालेका २१, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ८ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद छन् । बजेट पारित गराउन महन्थ ठाकुर–राजेन्द्र महतो समूहले साथ नदिए विपक्षीलाई विश्वासमा लिएर पारित गराउने मुख्यमन्त्री राउतको तयारी छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति