अर्थ राजनीति ~ नेकपा एमालेले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने र त्यसका लागि लचकता अपनाउने निर्णय गरेको छ । तर, त्यो प्रयास र लचकताले पनि २०७५ जेठ २ अघिको अवस्थामै पार्टी फर्केला भन्ने कुरामा चाहिँ नेताहरु अझै विश्वस्त देखिएका छैनन् । दुबै पक्षका एमाले नेताहरुको प्रतिक्रियाबाट पनि अब एमालेमा एकता भइहाले पनि माधव नेपाल बाहेकको एकता हुने भन्ने सम्भावना छ । ‘अन्तिमसम्म पनि एकताका लागि लचक हुने भन्ने त छ, तर अब एकता भए पनि माधव नेपालसमेत केही नेताहरुचाहिँ आउने सम्भावना देखिँदैन’ अध्यक्ष ओली निकट एक नेताले भने, ‘हाम्रोतर्फको निश्कर्ष लगभग यही हो ।’त्यसो त पार्टी एकता जोगाउन भन्दै दुवै पक्षका दोस्रो तहका नेताहरुले वार्ता र सम्वादलाई जारी राखेका छन् । अब केही दिन त्यस्ता संवाद सघन बनाउने उनीहरुको तयारी छ । यसअघि पनि दोस्रो तहका नेताहरुबीच निरन्तरवार्ता र सम्वाद हुँदै आएको थियो । सोमबारमात्रै उनीहरुबीच लामै छलफल भएको थियो । जसका कारण एमालेको औपचारिक विभाजन टरिनसके पनि पछाडि भने अवश्य धकेलिएको छ । पार्टीको विवाद समाधान गर्न जेठ पहिलो साता गठित एमालेको १० सदस्यीय कार्यदल हाल निश्कृय भैसकेको छ । कार्यदलमा रहेमध्येका माधव नेपाल पक्षका एक नेता भीम रावललाई पार्टीबाट निश्कासन गरेपछि उक्त कार्यदल निश्कृय बन्न पुगेको हो । त्यसयता पनि ओली र नेपाल पक्षका अरु केही नेताहरु अनौपचारिक रुपमा पार्टी विभाजन रोक्ने प्रयास स्वरुप छलफलमा बसिरहेका छन् । तर, ती छलफल र पहलकदमीबाट पनि ठोस उपलब्धि भने हासिल हुन सकेको छैन । तथापि विभाजित बनेका सबै नेताहरु नआए पनि धेरै नेता–कार्यकतालाई समेट्ने प्रयास दुवै पक्षले जारी राखेका छन् ।
राजनीतिक र सांगठनिक रुपमा दुई ध्रुवमा गैसकेको एमालेले विभाजनको कानुनी मान्यता नपाएसम्म दुवै पक्षले अर्को पक्षमा लागेका नेता–कार्यकर्ता तान्ने प्रयास तीव्र पार्ने देखिएको छ । त्यसका लागि ओली पक्षले केही नेतालाई कारवाहीको घोषणा गरेपनि केही समयका लागि होल्ड गरेबाटै पनि नेता फकाउने प्रयासको पुष्टि गरेको छ । तर, ओली पक्षले माधव नेपालसँग अब एकता असम्भव भएको निश्कर्ष नै निकालेको छ ।पटक–पटक स्थगित भएर मंगलबार बसेको स्थायी समिति बैठकमा पनि माधव नेपाल बाहेकको एकतामै बल गर्नुपर्नेमा नेताहरुको जोड रहेको थियो ।