नेता महेश बस्नेत – “एमाले कार्यकर्ता हुँदा छाती गौरवले फुल्ने गर्छ “

Machchapuchchre

अर्थ राजनीति  ~ नेकपा एमालेका युवा नेता एवं सांसद महेश बस्नेतले केपी ओलीका कारण भारतसँग सम्बन्ध सुमधुर बनेको बताएका छन् । न्यायालय, सेना र विदेशी शक्ति एमालेको पक्षमा छैन भन्ने निरीह शब्दहरू विगतमा सुनिने गरेको बताउँदै सांसद बस्नेतले अहिले केपी ओलीका कारण गर्व गर्ने ठाउँमा आइपुगिएको बताएका छन् ।  सांसद बस्नेतले भने,‘आज गौरवका साथ हामी भन्न सक्छौं – ‘केपी ओलीका कारणले  एमाले कार्यकर्ता हुँदा छाती गौरवले फुल्ने गर्छ ।’सोमबार आयोजित राष्ट्रिय युवासंघको कार्यक्रममा एमालेका युवा इञ्चार्ज बस्नेतले व्यक्ति गरेको विचारको अंश यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ– जसरी तेङ स्याओपिङलाई चाइनाको एउटा सम्मानित नेताको रुपमा स्वीकारिन्छ, त्यसैगरी केपी शर्मा ओलीलाई आधुनिक नेपाल निर्माण गर्ने कम्युनिस्ट नेताका रुपमा स्विकारिँदैछ । आज केपी शर्मा ओलीलाई समर्थन गरेवापत हामीलाई आलोचना गर्ने साथीहरु भोलि हाम्रै समीपमा आएर हामीले गल्ती ग-यौं भनेर स्वीकार्ने अवस्थामा पुग्नुहुन्छ  ।

हामी  इतिहासको यो कालखण्डमा जाँचिन तयार छौं, तौलिन तयार छौं । गम्भीर  समीक्षामा हामी बस्न तयार छौं । र, म फेरि पनि गौरवका साथ भन्छु, कुनै पनि विधिलाई छनोट गर्ने विधि भनेको तुलनात्मक विधि हो । हामी द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण राख्ने साथीहरुले त अझै यो कुरालाई ध्यान दिनुपर्छ । आज गौरबका साथ हामी भन्न सक्छौं – केपी ओलीका कारणले हाम्रा सीमानाहरु सुरक्षित भएका छन् । केपी ओलीका कारणले हाम्रा ७ वटा भारत र चाइनासँग जोड्ने नाकाहरु बन्दैछन् । केपी ओलीका कारणले रेलमार्ग मात्रै बनिरहेको छैन, भारतसँगको सम्बन्ध सुमधुर बन्दैछ । लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता आउँदैछ ।  सि जिनपिङ र मोदीजस्ता अन्तरर्राष्ट्रिय ख्याती कमाएका नेताहरु नेपाल भ्रमण गर्ने अवस्था बनेको छ । सुरुङ्ग मार्ग सुरु हुँदैछ । केपी ओलीका कारणले चाहे युएनका सभाहरु हुन्, चाहे अन्तरराष्ट्रिय मञ्चहरु हुन्, आज नेपाल लास्ट बेञ्चरबाट फस्ट बेञ्चर बनेको छ । जी–७ को बैठकमा केपी ओलीलाई आमन्त्रण गरिन्छ । अनि बीबीसी, सीएनएनजस्ता अन्तरराष्ट्रिय मिडियाहरुले आज नेपालको प्रधानमन्त्रीको इन्टरभ्युलाई महत्त्वका साथ प्रसारण गर्छ । भारतका कुना–कुनामा केपी ओली को हो भनेर सोध्यो भने नेपालका लोकप्रिय प्रधानमन्त्री हो भनेर भन्ने स्थिति बनेको छ । अफ्रिकन गायकदेखि लिएर विभिन्न सेलिब्रेटीहरुले हु इज केपी ओली भन्दा केपी ओली इज द प्राइमिनिस्टर अफ नेपाल, एण्ड हि इज भेरी पपुलर इन युथ सेक्टर भन्नेखालका अभिव्यक्तिहरु दिएका कुराहरु हामी सुन्न पाउँछौं । आज टिकटकभरि केपी ओलीको प्रचार छ । आज सेना केपी ओलीसँग प्रफुल्लित छ । प्रहरी केपी ओलीसँग प्रफुल्लित छ । आज नेकपा एमालेको यो पंक्तिले जुन ढंगले विकासमा काम गरिरहेको छ, समृद्धिमा काम गरिरहेको छ, आज स्थानीय तहमा मात्रै अरबौं पैसा गएको छ । अहिले वडा वडामा सडक बन्न थालेका छन् । पूर्वाधार बन्न थालेका छन् । औद्योगिक क्षेत्र बन्न थालेका छन् । विद्यालय बन्न थालेका छन् । अस्पताल बन्न थालेका छन् । युवाहरुले रोजगारीका असंख्य अवसरहरु सिर्जना गर्न थालेका छन् । यस मानेमा हामी नेकपा एमाले भएका कारणले गौरब गर्न सक्ने ठाउँमा छौं । अब हामी यो एमालेरुपी रुखलाई नयाँ बसन्तु ऋतुको युगमा प्रवेश गराएका छौं । र, यसलाई नयाँ ऊर्जाका साथ अगाडि बढाउने छौं । र, कमरेड केपी शर्मा ओलीको नेतृत्वमा, उहाँको मलजलमा यो रुखलाई हामी तीव्रताका साथ अगाडि बढाउनेछौं ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्