अर्थ राजनीति ~ हाइफ्लोमा अक्सिजन दिएर उपचार भइराखेका बेला डाक्टरले अक्सिजन सकिएको खबर गरेपछि तनहुँ भानुकी सुत्केरी महिलाको परिवार होसहवास उड्यो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसोलेसनमा शुक्रबार भर्ना भएर हाइफ्लो अक्सिजन दिएर सुत्केरीको उपचार भइरहेको थियो । बिहीबार साँझ नै अस्पतालले अक्सिजन रेगुलर नभएको भन्दै घरि अक्सिजन दिने, घरि नदिने गरिएको सुत्केरीका आफन्तले बताए । ‘हाइफ्लोमा अक्सिजन रेगुलर छैन भन्यो । आउँछ आउँछ भन्छ, आउँदैन । अक्सिजन नपाएको १ घन्टा हुन लागिसकेको थियो, हामी आफैं अक्सिजन उद्योगमा पुग्यौं,’ सुत्केरी महिलाकी भाञ्जाले भने, ‘औद्योगिक क्षेत्रमा रहेको अक्सिजन उद्योगमा पुगेर रोइकराइ गर्यौं । हामी किन्छौं, केही अक्सिजन उपलब्ध गराइदिनुस् भन्यौं तर पाएनौं । फर्किंदा माइजूको मृत्यु भइसकेको रहेछ ।’अक्सिजनको अभावले माइजूलाई गुमाएको उनले सुनाए । ‘अस्पतालले अक्सिजन आउँदै छ भन्यो, उद्योगले सबैलाई दिएका छौं भनेर दिएनछ,’ सुत्केरीका श्रीमानले भक्कानिँदै भने, ‘आउँछ आउँछ भनेको अक्सिजन बिरामीको ज्यान गएको १ घन्टा भइसक्दा पनि आइपुगेको थिएन । बेलैमा अक्सिजन पाए उनी बाँच्थिन् होला ।’पूर्व उपकुलपति, डिन र डाक्टरहरुकै लगानीमा अक्सिजन उद्योग भएकाले अस्पतालमा प्लान्ट नभएको त्यहीँका चिकित्सकहरु बताउँछन् । अहिले तिनै डाक्टरहरुको लगानी भएको पोखरा अक्सिजन उद्योगबाट प्रतिष्ठानमा अक्सिजन आपूर्ति हुँदै आएको छ । तर, पर्याप्त अक्सिजन नपाउँदा बिरामीले ज्यान गुमाउनु परेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा बिहीबार मध्यरातदेखि बिहान ४ बजेसम्म अक्सिजनकै अभावले सुत्केरी महिलासहित ६ जनाले ज्यान गुमाएका छन् । तनहुँका ३ जना, म्याग्दी, पर्वत र स्याङ्जाका १-१ जना गरी ६ जनाको ज्यान गएको हो । अस्पतालमा एक्कासी अक्सिजनको अभाव भएको र हाइफ्लो दिएर उपचार भइरहेका बिरामीले सोही अनुसार अक्सिजन नपाउँदा मृत्यु भएको चिकित्सकले बताएका छन् । पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठान कोभिड–१९ को उपचार गर्ने गण्डकी प्रदेशकै ठूलो संघीय अस्पताल हो । यही अस्पतालमा एक्कासी अक्सिजनको अभाव हुँदा रातभर दौडादौड चल्यो तर पनि ६ जनाले ज्यान गुमाए ।