ओलीको एमाले तहसनहस अभियान सफल : माधव नेपाल

Machchapuchchre Bank

अर्थ राजनीति  ~  पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूसहित ११ नेतालाई नेकपा एमालेबाट निष्कासन गर्ने निर्णय अर्थहीन भएको टिप्पणी गरेका छन् । आफूहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई तहसनहस गर्ने अभियान पूरा मात्र गरेको उनले बताए । एमाले अध्यक्ष ओली पक्षको स्थायी कमिटीले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल सहित ११  जनालाई पार्टी बाट निस्कासन गर्ने निर्णय गरेको थियो । सामाजिक सञ्जालमार्फत अपील सार्वजनिक गर्दै नेता नेपालले सर्वोच्च अदालतको फैसला अनुसार २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व हुनुपर्ने कार्यकर्ता पंक्तिको माग विपरीत ओलीले एकाधिकारवादी शैलीमा पार्टीलाई चलाएको बताएका छन् ।

‘जनताबीच लोकप्रिय पार्टी नेकपा एमालेलाई तहसनहस गर्ने अभियान त्यही विन्दुबाट सुरु गरेर कथित कारवाही र निष्कासनमा आएर पूरा भएको छ’ उनले भनेका छन्, ‘नेपालको कम्युनिष्ट आन्दोलनमा राष्ट्रघाती र प्रतिगमनकारीको रुपमा सिंगो कम्युनिष्ट आन्दोलन विसर्जन गर्ने पात्रका रुपमा ओलीले आफूलाई स्थापित गरेका छन् ।’प्रधानमन्त्री समेत रहेका ओलीले षड्यन्त्रकारीहरुको उक्सावटमा सिंगो ‘नेकपा’लाई विभाजन गरेको नेता नेपालको आरोप छ । व्यक्तिवादी सोच र स्वार्थ पूरा गर्न सरकारको दुरुपयोग गरेको र एमालेको संगठन निस्तेज बनाएको भन्दै उनले भनेका छन्, ‘यसविरुद्ध आवाज उठाउँदा ओलीबाट प्रहार भयो । अहिले ओली गुटले गरेको कथित कारबाही वा निष्काशन त्यसैको प्रतिरुप हो ।’पूर्वप्रधानमन्त्री नेपालले आफूले व्यक्तिगत र सामूहिक रुपमा पार्टीलाई दुर्घटनाबाट जोगाउन सक्दो भूमिका खेलेको दाबी गरेका छन् । ‘पटक पटकको भेटमा स्वयं केपी ओलीलाई सच्चिएर अघि बढ्न आग्रह गरेँ । तर सत्ता, शक्ति र माफियाको जगमा उभिएका ओलीले हाम्रा सुझावहरु मनन गरेनन्, वास्ता गरेनन् । बरु प्रतिशोध साँध्ने काम मात्र गरे’ उनले भनेका छन्, ‘त्यही कारण आम जनता, नेता–कार्यकर्ता र ओली सरकारबीच तीव्र दूरी बढिरह्यो ।’उनले, प्रधानमन्त्री ओलीले लोकतन्त्र, संविधान र कम्युनिष्ट आन्दोलनप्रति ठूलो गद्दारी गरेकाले प्रतिरोधमा उत्रिनुपर्ने अवस्था आएको समेत बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्