अर्थ राजनीति ~ आईएमई लाईफ इन्स्योरेन्सले आईपीओ निष्कासनको प्रस्ताव गर्दै जेठ ३१ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालय लैनचौर, काठमाडौंमा विहान १० बजे सभा बोलाईएको हो । कोभिडको महामारीलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्तावसँगै आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै गत आर्थिक वर्ष ०७६÷७७ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्गो लगाउनेछ । साथै, संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व रहेको दिपक पोखरेलको स्थानमा बाँकी कार्यकालका लागि युगेश भक्त वादे श्रेष्ठलाई नियुक्त गरेकोमा सोको नियुक्ती अनुमोदन गर्ने विषय पनि सभाका लागि तय भएको छ । कम्पनीले सामूहिक लगानीकोष स्थापन गर्ने योजना बनाएकाले सो विषय पनि प्रबन्धपत्रमा थप गर्ने सभामा प्रस्ताव लैजादैंछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । कम्पनीले ६० करोड बराबरको आईपीओ निष्कासनको तयारी गरेको हो । सर्वसाधारणलाई आईपीओ जारी गरी रू. २ अर्ब चुक्तापूँजी कायम गर्ने गरी २०७४ साल असार २० गते बीमासमितिबाट लाईसेन्स प्राप्त गरेको यस कम्पनीले सोही वर्षको भदौ १ गतेदेखि व्यवसायिक कारोबार सुचारु गरेको हो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले १० करोडभन्दा बढी खुद नाफा गरेको छ भने जगेडा कोष रकम ४५ करोडभन्दा बढी छ । यस वर्ष तेस्रो त्रैमाससम्म रू. १ अर्ब ८९ करोडभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले रू. ३४ करोड ११ लाखभन्दा कुल दाबी भुक्तानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव ५४ र प्रतिशेयर नेटवर्थ रू. १३५ दशमलव ७५ रहेको छ ।