अर्थ राजनीति ~ जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका छन् । शुक्रबार बिहान पत्रकारहरूसँगको प्रतिक्रियामा यादवले ठाकुरलाई प्रधानमन्त्रीका रुपमा अगाडि सारिने बताए । उनले अन्य दलहरूसँग परामर्श गर्ने बताएका छन् । उनले दलका नेताहरूसँग सम्वाद शुरु भएको पनि बताएका छन् । उनले अहिलेको अवस्थामा ठाकुर प्रधानमन्त्रीका लागि उपयुक्त पात्र भएको बताएका छन् । महन्थ ठाकुर प्रधानमन्त्री बन्न तयार रहेको यादवको भनाइ छ । केही दिनअगाडि जसपाका दुई अध्यक्ष ठाकुर र यादवबीच प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा नजाने बरू आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आए अगाडि बढ्ने सहमति भएको थियो ।
संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री भएका ओलीले विश्वासको मत नलिई र राजीनामा नदिई राष्ट्रपतिले बिहीबार संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार बनाउन दलहरूलाई आह्वान गरेकी थिइन् । अध्यक्ष यादवले राष्ट्रपतिको कदम संविधान विपरीत भएको बताएका छन् । अरू दलसँग परामर्श गरेर जसपा अगाडि बढ्ने उनले बताएका छन् । राष्ट्रपतिले शुक्रबार साँझ ५ बजेभित्र संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार आह्वान बनाउन समय दिएकी छिन् ।