स्वास्थ्य मन्त्रालयको तथ्यांकमा गल्ती कायमै

Machchapuchchre Bank

अर्थ राजनीति  ~  स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा केही सुधार भएका छन् । यद्यपि केही सूचना भने अझै गलत नै छन् । त्यसमध्ये भक्तपुर अस्पताल भक्तपुरमा आईसीयू बेडको संख्या ६ वटा र भेन्टिलेटरको संख्या पनि ६ वटा नै रहेको अस्पतालले जनाएको छ  तर स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकमा उपलब्ध भेन्टिलेटरको संख्या १ बनाएको छ । गत सोमबार सार्वजनिक भएको तथ्यांकमा ८ बनाएको थियो । मन्त्रालयको तथ्यांक अनुसार किस्ट अस्पताल, ग्वार्कोमा जेनेरलर/एचडीयू १७६, आइसीयू ३७, भेन्टिलेटर १७ उपलब्ध छ । त्यसमध्ये एचडीयुमा ११ जना, आईसीयूमा ११ जना र भेन्टिलेटरमा ७ जना उपचाररत रहेको तथ्यांकले देखाउँछ तर, अस्पतालमा करिब ३५ एचडीयु (क्रिटिकल केयर) बेड र १२ वटा भेन्टिलेटर सञ्चालित छ । अहिले एचडीयूमा २८ जना र भेन्टिलेटर सबै प्रयोगमा छन् । बाँकी रहेको एचडीयूमा अक्सिजन अभावको कारण संक्रमित भर्ना गर्न नसकेको अस्पताल प्रमुखले  बताए ।

उनले भने ‘अक्सिजन अभावको कारण हामी आफैं उद्योगसम्म अक्सिजन लिन गयौं । उद्योगमा समेत पहुँचवालाले मात्रै पाउन थालेपछि भर्ना कम गरेका हौं ।’ अस्पतालले मन्त्रालयको आधिकारिक सफ्टवेयरमा अस्पतालले अपडेट गरेको हुनाले मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक फरक नहुनुपर्ने उनको भनाइ छ । त्यही क्रममा आफू पनि संक्रमित हुन गई आइसोलेसनमा बसिरहेको उनले बताए । सरकारले अक्सिजन र जनशक्ति परिचालन गर्न सके सम्झौता अनुरूप बिरामी उपचार गर्ने उनको भनाइ छ । क्रिटिकल केयरमा कार्यरत स्वास्थ्यकर्मीहरु संक्रमित भएर आइसोलसनमा बस्नुपर्ने स्थिति हुँदा पनि नयाँ बिरामी भर्ना गर्न नसक्ने भएकोले सरकारले जनशक्ति परिचालन गर्न सहयोग गर्नुपर्ने उनको भनाइ छ । मन्त्रालयले अक्सिजन उपलब्ध गराउने भएकोले थप सात जना भर्ना लिने अस्पतालले निर्णय गरेको उनले  बताए ।अस्पतालले मन्त्रालयसँग २०० बेड कोरोना संक्रमितको लागि प्रयोग गर्ने सम्झौता गरेको थियो । संक्रमित बढ्दै जाँदा केही दिन अघिसम्म १०० जनासम्म भर्ना गरेर उपचार गरेको तर अक्सिजनको अभाव हुन थालेपछि भर्ना कम गर्दै गरेको अस्पताल प्रमुखले बताए ।त्यस्तै, काठमाडौं मेडिकल शिक्षण अस्पताल सिनामंगलमा क्रिटिकल केयर र भेन्टिलेटर गरी डेढ सय भर्ना गर्न सकिने अवस्था भए पनि अक्सिजनको अभावको कारण अहिले १७ जना मात्रै उपचाररत रहेको अस्पतालका अध्यक्ष सुनिल शर्माले बताए । बाँकीमा अक्सिजन अभावको कारण भर्ना गर्न नसकेको शर्माले बताए । उनले भने ‘हामीसँग पर्याप्त अक्सिजन छैन । अब भर्ना गर्न सक्ने अवस्थामा छैनौं ।’ मन्त्रालयमा बिहान ११ बजेसम्म भित्र रिपोर्ट पठाउने भएकाले तथ्यांक फरक पर्न गएको उनको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्