अक्सिजन अभाव : अस्पतालद्वारा थप संक्रमितको उपचार गर्न नसक्ने अवस्था

Machchapuchchre Bank

अर्थ राजनीति  ~  बुटवलमा अक्सिजन अभावमा ५ जना कोरोना संक्रमितको ज्यान गयो । कोरोना विशेष अस्थायी अस्पतालमा अक्सिजन अभावमा बुधबार ५ जनाले ज्यान गुमाएका हुन् । काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागका अस्पतालमा यस्तै नियति छ । यद्यपि कोरोना संक्रमणको दोस्रो लहरमा बेड र अक्सिजनको अभावमा ज्यान गुमाउनेको सम्पूर्ण तथ्याङ्क स्वास्थ्य मन्त्रालयसँग छैन । अक्सिजन आवश्यक पर्ने संक्रमितको संख्या बढ्दै जाँदा उपत्यकाका ११ भन्दा बढी अस्पतालले अक्सिजनको अभाव देखाउँदै बिरामीको उपचारबाट हात झिकेका छन् । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, नागरिक सामुदायिक तथा शिक्षण अस्पताल भक्तपुरले थप संक्रमित बिरामीलाई भर्ना लिन नसक्ने जनाएका छन् । यस्तै, ओम अस्पताल, नर्भिक अस्पताल, मेडिसिटी अस्पताल, त्रिवि शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज, मेडिकेयर, हेल्पिङ ह्याण्ड्स, हिमाल अस्पताल, नेपाल भारतमैत्री अस्पतालले अक्सिजन अभाव देखाउँदै संक्रमितको उपचार गर्न नसक्ने बताएका छन् । अक्सिजनको सुनिश्चितता नभएसम्म नयाँ बिरामी भर्ना गर्न नसकिने उनीहरुको भनाइ छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)ले अस्पतालहरुलाई अक्सिजन सिलिण्डरको कोटा छुट्याएपछि  अस्पतालहरुले संक्रमितको उपचार भर्ना गर्न नसक्ने भन्दै धमाधम हात उठाएका छन् ।

सिसिएमसीले अस्पतालमा बिरामीको चाप नहेरी अक्सिजनको कोटा छुट्याएको पाटन अस्पतालका निर्देशक डा.रवि शाक्यको गुनासो छ ।सिसिएमसीले कोटा तोकेअनुसार वितरकले अक्सिजन उपलब्ध नगराउँदा झन् समस्या बल्झिएको उनी बताउँछन् । ‘अस्पतालमा कोभिड, ननकोभिड बिरामीलाई आवश्यकताको आधारमा माग्दा अक्सिजन अभाव भयो भन्छन्,’ डा. शाक्यले भने, ‘बेड भए पनि अक्सिजन अभावमा थप कोभिड बिरामी भर्ना लिने अवस्था छैन ।’पाटन अस्पतालको लागि दुईदिन अघि सरकारले ४०० वटा अक्सिजन सिलिण्डरको कोटा छुट्याए पनि २०० सिलिण्डरमात्र प्राप्त गरेको उनले सुनाए । थप २०० सिलिण्डर उपलब्ध नगराएको उनको भनाइ छ । पाटन अस्पतालमा कोभिड र ननकोभिड बिरामीका लागि दैनिक ५०० सिलिण्डर अक्सिजन आवश्यक पर्र्ने निर्देशक डा.शाक्यको भनाइ छ  तर, अस्पतालले चाहेर पनि कोभिडका बिरामीलाई भर्ना लिन नसकेको उनी बताउँछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्