प्रधानमन्त्री ओलीको देशबासीका नाममा सम्बोधन : निर्वाचनको तयारीमा जुट्न आहृवान

Machchapuchchre Bank

अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा निर्वाचान घोषणा गरेको भोलिपल्ट सोमबार दिउँसो देशबासीलाई सम्बोधन गर्दै ओलीले निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका हुन् । ‘निर्वाचनमा जाँदा संविधान अप्ठ्यारोमा पर्छ, लोकतन्त्र संकटमा पर्छ र मुलुक अस्थिरतातर्फ धकेलिन्छ भनेर चलाउन खोजिएका प्रचार र भ्रमहरु निराधार छ’ उनले भने, ‘राजनीतिक स्थिरताको प्रत्याभूति गर्ने निर्णायक तत्व जनताको अभिमत हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टी नेताहरुको चर्को आलोचना गरे । केही नेताहरु पद, प्रतिष्ठा र पद शोपानमा केन्द्रित भएको र पार्टीले आफ्नो कुण्ठाको बन्धक बनाएको उनले बताए । सरकार गठन भएको एक वर्षमै अस्थिरताको सन्देश दिन खोजेको भन्दै उनले प्रचण्ड र माधव नेपालतर्फ संकेत गर्दै भने, ‘कुनै नेताले मुलुक बाहिर गएर त कुनै नेताले देश डुब्न लाग्या भन्दै माझी गुहार्नु थाल्नुभयो ।’ सरकारलाई राम्रोसँग काम गर्न नदिएको, संवैधानिक अंगहरुमा पदपूर्ति गर्न रोकेको र विपक्षी दललाई समेत उछिनेर नकारात्मक कुरा मात्र गर्न उद्दत भएको उनको आरोप छ । ‘पछिल्लो समय सरकार कस्तो घेराबन्दीको शिकार भयो भन्ने तपाईहरु अनविज्ञ नै हुनुहुन्न’ टेलिभिजन सम्बोधनका क्रममा उनले भने ।
सरकारले नेपालको नयाँ नक्सा प्रकाशन गर्नुका साथै सर्वसम्मतिका आधारमा संविधान संशोधन गरेको र समस्या समाधानका लागि भारतसँग वार्ताको तयारी भइरहेको उनले बताए ।
चीनसँग पारवाहन यातायात प्रोटेकलमा हस्ताक्षर भएको भन्दै उनले भने, ‘यसलाई सुदृढ गर्न सबैले सहयोग गर्नु पर्ने बेलामा सरकारलाई असहयोग र असफल पार्न भइरहेका यी गतिविधिका पछाडि गम्भीर षडयन्त्र लुकेको स्पष्ट छैन र ?’चार वर्ष अगाडि नाकाबन्दीका साहसका साथ सामना गर्दै त्यसलाई अन्त्य गरे वापत, नेपालको पारवहन सुविधा विस्तार गरेर फेरि कहिल्यै नाकाबन्दी नहुने कुराको सुनिश्चित गरेबापत आफ्नो नेतृत्वको सरकारलाई यसैगरी षडयन्त्रपूर्ण ढंगले अपदस्थ गरिएको उनको दाबी छ । ‘परिस्थिति र समयसन्दर्भ फरक भए पनि पात्रहरु उनै हुनुहुन्थ्यो । के यसले हाम्रा कतिपय नेताहरु नेपाललाई अनन्त अस्थिरतामा फसाउने योजनामा सहभागी भएको स्पष्ट रुपमै देखिनु हुन्न र ?’ प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा भनेका छन् । निर्वाचनको घोषणाले पार्टी एकतालाई बलियो बनाउने अपेक्षा लिएको उनले बताए । ‘पार्टी पहिलो शक्ति बन्नुमा, पार्टी एकता हुनुमा र पार्टीले विशाल जनसमर्थन प्राप्त गर्नुमा केपी ओलीको कुनै योगदान छैन, हामी पो निर्णायक हौँ भन्ने कमरेडहरुलाई पनि लोकप्रियता र क्षमताको मापन गर्न यसले अवसर दिने छ’, उनले भनेका छन्, ‘प्रधानमन्त्री बन्न ब्यग्र प्रतिक्षामा वा प्रयासमा रहनुभएका नेताहरुलाई पनि ताजा जनादेशले विकल्प दिने छ । प्रतिपक्षी दललाई पनि आफ्ना एजेण्डा जनताबीच लैजाने अवसर प्रदान गर्ने छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्