कार्यकारी अध्यक्ष बनेको महिनादिन नबित्दै प्रचण्डले बोलाए स्थायी कमिटी बैठक

Machchapuchchre

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्कोयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको कार्यकारी अध्यक्ष बनेको महिनादिन नबित्दै पार्टीको स्थायी समिति बैठक बोलाएका छन् । नेकपा स्रोतले दिएको जानकारी अनुसार स्थायी समितिको बैठक मंसिर २९ गते बस्ने भएको छ। सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेकपा सचिवालय बैठकले स्थायी कमिटीको मिति तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रचण्डको अध्यक्षताका सोमबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएका थिएनन्। मंसिर ४ गते नेकपाले पार्टी सञ्चालनको कार्यकारी अधिकार प्रचण्डलाई दिने निर्णय गरेको थियो। कार्यकारी अधिकार पाएपछि बसेको दोस्रो सचिवालय बैठकमा प्रचण्डले स्थायी समितिको बैठक डाक्ने निर्णय गरेका हुन्। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच जिम्मेवारी बाँडफाँट नहुँदा नेकपाको एकता र सांगठनिक गतिविधिले तीव्रता पाएको थिएन।

यसअघि भदौ ९ गते पनि बैठक सञ्चालन लगायतको कार्यकारी अधिकार दिएर प्रधानमन्त्री एवं अध्यक्ष ओली स्वास्थ्य उपचारका लागि सिंगापुरमा गएका बेला प्रचण्डले सचिवालय बैठक डाकेका थिए। उनले त्यसबेला चार जना केन्द्रीय सदस्यलाई मनोनयन गर्नुका साथै केही नेताहरुको जिम्मेवारी फेरबदल गरेका थिए।

एकताको सबै प्रक्रिया नटुंगिएको नेकपालाई उनले नयाँ ढंगले अघि बढाउने संकेत दिएका छन्। नेकपाको स्थायी समिति बैठक एक वर्षदेखि बस्न सकेको छैन, दुई दिनमा बैठक सक्नेगरी स्थायी समिति बैठक डाकिएको प्रवक्ता श्रेष्ठले बताए। यसअघि स्थायी समिति गठन भएसँगै गत वर्ष मंसिर २९ गते सो समतिको बैठक बसेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्