राज्य सरकारहरूको सुझावपछि लकडाउन थप गर्ने तयारीमा भारत

Machchapuchchre

काठमाडाैं । २१ दिनका लागि तय भएको भारतको लकडाउन थप हुनसक्ने देखिएको छ। कोरोना संक्रमण देखिएका महाराष्ट्र, तेलाङ्गना, पंजाब र मध्य प्रदेश लगायतका राज्यहरू जारी लकडाउन थप गर्नुपर्ने पक्षमा देखिएकाले अप्रिल १४ पछि पनि लकडाउन जारी रहने देखिएको हो।

भारतका धेरै राज्य सरकार तथा विशेषज्ञहरूले लकडाउन खोल्दा हाल स्थिर देखिएको कोरोना भाइरसको संक्रमण बढ्न सक्ने खतरा भएकाले लकडाउन बढाउनुपर्ने पक्षमा छन्।

थप भएको अवधिमा जिल्ला तथा राज्यका सीमाहरू सिल गरिनेछ भने रेल, मेट्रो तथा हवाइसेवाहरू खुल्नसक्ने सम्भावना भने रहेको छ।यसैगरी सरकारले औषधीजन्य सेवा र खाद्यान्न विक्री केन्द्रका अलावा अन्य आवश्यक सेवाहरू खुकुलो बनाउने बारेमा पनि छलफल गरिरहेको टाइम्स अफ इण्डियाले प्रकाशित गरेको समाचारमा उल्लेख छ।

भारतले यातायातमा जोर-विजोर प्रणाली तथा तिनमा निश्चित संख्यामा यात्रुहरूलाई चढ्न दिने बारेमा पनि छलफल गरिरहेको छ। यसका साथै उसले कृषि उत्पादन र कटाइका क्षेत्र तथा सामानको वितरण प्रणालीलाई पनि खुकुलो बनाउने ठानिएको छ।

मंगलबार भारतका रक्षा मन्त्री राजनाथ सिंहको नेतृत्वमा बसेको सरोकारवालाहरूको वैठकले यी क्षेत्रहरूलाई पुनः कसरी खोल्न र संचालन गर्न सकिन्छ भन्ने बारेमा छलफल गरेको थियो।

केन्द्र सरकारले यी विषयमा छलफल चलाएपनि कोरोना भाइरस संक्रमण प्रभावित र त्यसको उच्च जोखिम रहेका क्षेत्रका कारण हाल कुनै पनि स्तरको अन्तर-जिल्ला आवतजावत कठिन भइरहेको छ।

‘राज्यका सीमानाका खोल्ने भन्ने प्रश्नै छैन’, एक उच्च भारतीय सरकारी अधिकारीले भने, ‘औपचारिक निर्णय हुन बाँकी छ तर आएका सुझावहरूले प्रतिबन्ध खुकुलो पार्नु धेरै खतरापूर्ण हुने देखाएको छ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टीका कार्यकर्ताहरूलाई सोमबार दिएको भिडिओ सन्देशमा कोरोना भाइरसविरुद्धको लडाई लामो हुने र लकडाउन लम्ब्याउने संकेत गरेका थिए।

मध्यप्रदेश र तेलाङ्गना राज्यका मुख्यमन्त्री शिवराज सिंह चौहान र के. चन्द्रशेखर राओसहितका कयौं मुख्यमन्त्रीहरूले लकडाउनलाई अप्रिल १४ उता लम्ब्याउन केन्द्र सरकारलाई सुझाव दिएका छन्।

सरकारी श्रोतका अनुसार प्रम मोदी कोरोना भाइरस विरूद्धको आगामी लडाईंका लागि ठोस राजनैतिक सहमति जुटाउन लागिरहेका छन्। यसका लागि उनले मूख्य राजनीतिक व्यक्तित्वहरू, पूर्व प्रधानमन्त्रीहरू, पूर्वराष्ट्रपतिहरू तथा पार्टी अध्यक्षहरूसँग टेलिफोन संवाद गरिसकेका छन्।

योसँगै उनले लकडाउन जारी भएयता राज्यका मुख्यमन्त्रीहरूसँग दुईपटक भिडिओबाट छलफल गरिसकेका छन्। मोदीले बुधबार राजनैतिक सहमतिका लागि लोक सभा तथा राज्य सभाका प्रमुख नेताहरूसँग छलफल गर्दैछन्।

मंगलबारसम्म भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ३ सय २५ पुगेको छ भने मृत्यु हुनेको संख्या १६५ पुगेको छ। भारतले अप्रिल १४ पछि लकडाउनको अवधि बढाएमा त्यसको असर नेपालको लकडाउनमा पनि पर्ने जनाइएको छ। भारतसँग खुल्ला र सहज सिमाना भएकाले नेपालको कोरोना रोकथामका लागि चालिने कदममा त्यसको प्रभाव पर्ने नै छ।

नेपाल सरकारले वैशाख तीन गतेसम्मका लागि लकडाउन बढाउने घोषणा गरिसकेको छ भने मंगलबार देशवासीका नाममा सम्बोधन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सम्बोधनमा वैशाख ३ पछिको लकडाउन अझै जारी रहने संकेत गरेका थिए। उनले आफ्नो सम्बोधनमा केही साता थप कष्टकर हुने बताएका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्