कोरोना प्रभावित मुलुकबाट हुने खाद्यवस्तु आयात प्रतिबन्ध शर्तसहित फुकुवा

Machchapuchchre

काठमाडौं । कोरोना प्रभावित मुलुकबाट हुने खाद्यवस्तु आयातको प्रतिबन्धलाई सरकारले शर्तसहित फुकुवा गरेको छ । क्वरेन्टाइन मापदण्ड पालना गरेर खाद्य वस्तु आयात गर्नसक्ने निर्णय भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

‘आयातीत खाद्य वस्तु १४ दिन क्वारेन्टाइनमा राखेर स्वदेश भित्र्याउन पाइने गरी यसअघिको प्रतिबन्ध हटाइएको छ,’ विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले भनिन् । यसअघि स्थगन गरिएको खाद्य वस्तु आयात अनुमति पत्र जारी पनि उक्त निर्णयसँगै खुला भएको उनले जानकारी दिइन् ।

शर्तसहितको नयाँ व्यवस्थाअनुसार अब व्यवसायीले विदेशी मुलुकबाट आयात हुने सबै प्रकारका खाद्य वस्तु अनिवार्य १४ दिन क्वरेन्टाइनमा राख्नुपर्ने विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवं सूचना अधिकारी मोहनकृष्ण मर्हजनले बताए ।

‘कृषि तथा पशुपन्छी विकास मन्त्रालय र स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको क्वारिन्टाइन प्रोटोकलमा रहेर भन्सार विन्दु वा ट्रान्जिटमा त्यस्ता वस्तु क्वारिन्टाइनमा राखिने छ,’ महर्जनले भने ।

खाद्य वस्तुमा कोरोना संक्रमण जीवित रहनसक्ने तथा यसबाट कोरोना सर्नसक्ने जोखिमबारेको वैज्ञानिक आधारहरु कमजोर पाइएपछि यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा प्रकाशित गरेर आयातमा प्रतिबन्ध लगाएको मरिच, सुपारी लगायतका वस्तुको आयात अनुमति भने रोक्का नै छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्