निजी अस्पतालले पनि ल्याए पिपिई लगायतका स्वास्थ्य सामग्री

Machchapuchchre

काठमाडाैं । निजी अस्पतालहरूले मगाएको स्वास्थ्य सामाग्री काठमाडौं आइपुगेको छ। चीनको ग्वाङ्जाओबाट पिपिई लगायतका सामाग्री बोकेको नेपाल एयरलाइन्सको जहाज आज बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो।

बिहीबार फ्ल्यास फ्रेटका प्रमुख तथा प्रबन्ध निर्देशक थोमस मुर्रेले जहाजमा मेडिकल किट, पिपिई, मास्क, पञ्जा, थर्मोमिटर र भेन्टिलेटरहरू लगायतका सामानहरू आउने जानकारी दिएका थिए।

उनले जहाजले सिजी फाउण्डेसन, व्यावसायीक घराना शंकर ग्रुप, नर्भिकसहित केही निजी अस्पताललगायत ५० पार्टीको सामान ल्याउने बताएका थिए। निजी अस्पतालहरूको छाता संगठन ‘अफिन’ का महासचिव हेमराज दाहालले राजधानी र राजधानी बाहिरका केही अस्पतालहरूले सामाग्री मगाएको बताए।

उनले चीनबाट सामग्री ल्याउन अस्पतालहरूले आ-आफ्नो सूची पेस गरेको जानकारी दिए। ‘मैले पनि सयवटा पिपिई, ५० वटा थर्मल गन र १० हजारवटा मास्क मगाएको छु,’ सुमेरू अस्पतालका प्रबन्ध निर्देशक समेत रहेका दाहालले भने।

सरकारले राजधानीका ९ वटा निजी अस्पतालहरूलाई कोरोनाको उपचार गर्न हब अस्पताल तोकेको छ। यसअघि निजी अस्पतालहरूले पिपिई लगायत स्वास्थ्य सामग्री अभाव रहेको भन्दै कोरोना शंकास्पद विरामीको उपचार गर्न नसक्ने बताउँदै आएका थिए।

तर सरकारले कोरोनाको विरामी भर्ना नगर्ने अस्पताललाई कारवाही गर्ने जनाएपछि निजी अस्पतालहरू विरामीको उपचार गर्न सहमत भएका हुन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्