बिरामी फर्काउने अस्पताललाई सरकारले दियाे कारबाही गर्ने चेतावनी

Machchapuchchre

काठमाडौं । सरकारले ज्वरो आएका बिरामीको उपचारै नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ । कतिपय अस्पतालले ज्वरो आएका बिरामीलाई कोरोना संक्रमणको आशंकामा उपचारै नगरी फर्काइदिने गरेकोमा सरकारले यस्तो पाइए कारबाही गर्ने बताएको हो ।

‘के सरकारी, के गैरसरकारी, के सामुदायिक सबै अस्पतालले आफ्नो दायित्व बुझ्नुपर्ने हुन्छ’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने । मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा उनले यस्ता अस्पतालविरुद्ध कडा कदम चाल्न नपरोस् भन्दै चेतावनी दिएका हुन् ।

‘संक्रमणकालीन अवस्थामा गरिने नियम हेरेर हामीले काम गरिरहेका छौं, कम्तिमा बिरामी नफर्काइदिनुस्, मन्त्रालयले तोकेको नियमअनुसार उपचार गर्नुहोस्’ प्रवक्ता देवकोटाले भने ।

सरकारले तोकेका कोरोना विशेष अस्पतालहरु, हब अस्पताल, प्रादेशिक अस्पताल, मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले अनिवार्य रुपमा ज्वरो क्लिनिक र आकस्मिक सेवा दिनुपर्ने डा. देवकोटाले बताए । त्यसबाहेक अन्य अस्पतालले पनि आकस्मिक स्वास्थ्य सेवा यथारुपमा सञ्चालन गर्नुपर्ने उनको भनाई छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्