भक्तपुरमा ओली-प्रचण्डलाई झट्का, कांग्रेस भारी मतअन्तरले अगाडि, यस्तो छ ताजा अपडेट

Machchapuchchre

काठमाडौं । प्रदेशसभा सदस्यअन्तर्गत भक्तपुर क्षेत्रनम्बर १ (क)मा नेपाली कांग्रेसले अग्रता लिएको छ । चाँगुनारायण नगरपालिकाका १, २, ३, ४, ५, ६ र ७ नम्बर वडाको मतगणना सकिँदा कांग्रेस उम्मेदवार कृष्णलाल भडेल २ हजार ४ सय ३६ मतअन्तरले अगाडि छन् । कांग्रेस उम्मेदवार भडेलले १० हजार ३ सय ९५ र नेकपाका उम्मेदवार डीपी ढकालले ७ हजार ९ सय ५९ मत पाएका छन् । यसैगरी नेमकिपाका उम्मेदवार निरज लवजुले २ हजार २ सय ४७ मत पाएका छन् । यहाँका कूल मतदाता ४५ हजार १५ मध्ये ३२ हजार ३७ मत खसेको थियो ।

उता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनका तीनवटा वडामा भएको निर्वाचनमा नेकपाका सबै उम्मेदवारहरुले पराजय भोगेका छन् । यसअघि एमालेले एक्लैले जितेका वडामा समेत माओवादी रएमाले मिल्दासमेत कांग्रेसले जित हात पारेको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नः ४, वडा नः ५ र भरतपुर महानगरपालिका वडा नः १६ मा वडाध्यक्ष पदमा भएको निर्वाचनमा कांग्रेस उम्मेदवारहरु विजयी भए ।

नेकपाका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र नं ३ मा पर्ने भरतपुर महानगरपालिका वडा नः १६ मा कांग्रेसका उम्मेदवार अमृतराज हमाल विजयी भए । उनले नेकपाका उम्मेदवारलाई ३०८ मतको फराकिलो अन्तरले हराए । अमृतराजले ३१८३ मत प्राप्त गरे भने भक्तराज ले २८७५ मत प्राप्त गरे । यसअघि यो वडामा तत्कालीन नेकपा एमालेका उम्मेद्वार चतुरमान गुरुङ विजयी प्लानलसहित विजयी भएका थिए । उनको गत असोजमा क्यान्सर रोग लागेका कारणले निधन भएको थियो । २०७४ मा भएको निर्वाचनमा अमृत हमाललाई गुरुङले ६४ मतले पराजित गरेका थिए भने, अन्य सदस्यमा नेकपाका उम्मेदवारहरु फराकिलो मतले विजयी भएका थिए ।

तत्कालीन एमालेले एक्लैले जितेको ठाँउमा माओवादी केन्द्र मिल्दासमेत पार्टी उम्मेदवार पराजय भएको भनेर जिल्लामा नेतृत्वको आलोचना भएको छ । वडा नं १६ राष्ट्रिय सभाकी सांसद पार्वती रावलको वडासमेत हो । उता, पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नः ४ र ५ मा पनि कांग्रेसका उम्मेदवारहरु नै विजयी भएका छन् ।

सवारी दुर्घटनामा कांग्रेसबाट निर्वाचित दुवैजना वडाध्यक्षहरुको निधनपछि भएको उपनिर्वाचनमा पनि कांग्रेसकै उम्मेदवारहरु विजयी भए । खैरहनी–४ मा कांग्रेसका देवबहादुर बस्नेतसँग नेकपाका बेदबहादुर अधिकारी १५२ मतले पराजित भएका छन् । गत स्थानीय तहको निर्वाचनमा तत्कालीन एमाले उम्मेदवार निकै कम मतले पराजित भएका थिए । खैरहनी–५ मा कांग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका पुननारायण प्रधानलाई हराइन् नेपाली काँग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी हुन् ।

कार्कीले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गरेका छन् । चितवन निर्वाचन क्षेत्र नः १ मा पर्ने खैरहनी नगरपालिका नेकपाका अर्का प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्रमा पर्छ । पार्टी एकीकरणपछिको अवस्थामा पनि चितवनमा नेकपा तत्कालीन एमालेभन्दा पनि कमजोर देखिएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा पार्टीभित्र गुटवन्दी, आन्तरीक समस्या र एकले अर्कोलाई सिध्याउने गम्भीर खेलका कारण अल्सर भएको बताएका थिए ।

उता सत्तारुढ नेकपाका दुई प्रभावशाली नेताहरुको वडा दाङको घोराही उपमहानगरपालिका वडा नंं. १६ मा नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगी विजयी भएका छन् । संघीय संसदका निवर्तमान सभामुख कृष्णबहादुर महरा र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको वडामा अध्यक्ष पदका लागि शनिबार भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै डांगी निर्वाचित भएका हुन् ।

३ हजार दुई सय २६ मत खसेकामा डांगीले एक हजार दुई सय २२ मत प्राप्त गरी विजयी हुंदा निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार केसीले एक हजार एक सय १७ मत प्राप्त गरेका छन् । गत निर्वाचनमा यो वडामा नेकपा एमालेबाट लछिनप्रसाद बुढा बिजयी भएका थिए । बुढाको निधन भएपछि भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार जगलाल थारुले ७२० मत ल्याए भने समाजबादी पार्टीकी उम्मेदवार बिमला पुनले ३१ मत, राप्रपाका प्रकाश केसीले १९ मत, नेशनल मंगोल अर्गनाईजेशन पार्टीका उम्मेदवार पहलमान आलेले ३० मत र अर्का स्वतन्त्र उम्मेदवार समिर वलीले २३ मत प्राप्त गरेका छन् । ६८ मत बदर भएको छ ।

उता प्यूठानको प्यूठान नगरपालिका वडा नं. २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मुक्ति पोख्रेल विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार मोहनसिंह बिष्टलाई २ सय ८४ मत अन्तरले हराउँदै पोख्रेल विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृत बिष्णु प्रसाद गौतमका अनुसार पोख्रेलले १ हजार १ सय २७ मत पाउंदा बिष्टले ८ सय ४३ मत प्राप्त गरेका छन् । २५ मत बदर भएको छ । २ मा ३ हजार २१ मतदाता रहेकोमा १ हजार ९ सय ९५ मत खसेको थियो । वडा अध्यक्ष खिमबहादुर बिष्टको निधन भएपछि उपनिर्वाचन भएको हो ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ मा नेकपाका उम्मेदवार रामशरण थारु विजयी भएका छन् । नेपाली कांग्रेसका श्रीकृष्ण थारुलाई पराजित गर्दै रामशरण विजयी भएका हुन् । नेकपाका रामशरणले ८ सय मत प्राप्त गर्दा कांग्रेसका श्रीकृष्णले ७ सय ३७ मत प्राप्त गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्