अमेरिका र तालिवानबीच १८ बर्षपछि भयाे ऐतिहासिक शान्ति सम्झौता

Machchapuchchre

एजेन्सी । अमेरिकाले अफगानिस्तानबाट हजारौं सैनिक फिर्ता गर्न सहमति जनाउँदै तालिबानसँग शान्ति सम्झौतामा शनिबार हस्ताक्षर गरेको छ । अमेरिका र तालिबानबीच भएको सम्झौताअन्तर्गत् यदि तालिबानले आफ्ना प्रतिबद्धताहरू कायम राखे अमेरिका र उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)का साझेदारहरूले १४ महिनाभित्र आफ्ना सबै फौजहरूलाई अफगानिस्तानबाट फिर्ता गर्नेछन् ।

कतारमा भएको सम्झौतापछि १८ वर्षभन्दा लामो समयदेखिको द्वन्द्व अन्त्य गरेर अफगानिस्तान शान्तितर्फ उन्मुख हुने आशा गरिएको छ । काबुलमा भएको अमेरिका–अफगानबीचको संयुक्त निर्णयमार्फत् उक्त घोषणा भएको हो । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र तालिबानका नेताहरू उक्त सम्झौता हस्ताक्षर कार्यक्रमका लागि कतार पुगेका थिए ।

सम्झौतामा तालिबान यसअघि ‘अमेरिकाको कठपुतली’ भन्दै वार्ता गर्न अस्वीकार गर्दै आएको अफगान सरकारसँग वार्ता गर्ने उल्लेख छ । सम्झौतामा हस्ताक्षर हुनुअघि अफगानिस्तानमा एक हप्ता लामो युद्धविराम भएको थियो । जुन पालना भएको बताइएको छ । शान्ति सम्झौतामा हस्ताक्षर हुनुअघि शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानहरूलाई दिगो शान्तिको सम्भावना अंगाल्न आह्वान गरेका थिए ।

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामाथि हमला भएको एक महिनापछि अमेरिकाले पनि अफगानिस्तानमा हवाई हमला सुरु गरेको थियो । तालिबानले अमेरिकामाथि हमला गर्ने ओसामा बिन लादेन अमेरिकालाई सुम्पिन अस्वीकार गरेपछि अफगान युद्ध सुरु भएको थियो । तालिबान तत्कालै सत्ताबाट हट्यो ।

सन् २०११ मा भएको आक्रमणपछि अन्तर्राष्ट्रिय गठबन्धनका करिब ३,५०० सदस्यहरूको अफगानिस्तानमा मृत्यु भयो । जसमध्ये करिब २,३०० अमेरिकी थिए । मारिएका अफगान नागरिक, लडाकू र सरकारी फौजको संख्या भने यकिन गर्न कठिन छ । सन् २०१९ को फेब्रुअरीमा निस्किएको प्रतिवेदनअनुसार संयुक्त राष्ट्रसंघले ३२,००० भन्दा बढी सर्वसाधारण मारिएको जनाएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्