सानेपा मृत्यु प्रकरण – मृतक कार्की र चौधरी परिवारले दिए प्रहरीमा जाहेरी

Machchapuchchre

काठमाडाैं । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना र घरमा काम गर्न बसेका विजय चौधरीको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन दुवै परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएका छन्। पूर्वसचिव कार्कीले मङ्गलबार र विजयका परिवारका तर्फबाट जानकी चौधरीले आज जाहेरी दिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिइन्।

उनका अनुसार जाहेरीमा घटनाको अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गरिएको छ। किटानी जाहेरी भने नपरेको प्रहरीले जनाएको छ। ललितपुरको सानेपास्थित कार्कीको घरमा यही माघ २७ गते बिहान उनकी श्रीमती मुनाको हत्या भएको थियो भने चौधरीले झुण्डिएर आत्महत्या गरेका थिए। आफ्नै घरको भान्सा कोठामा बिहान अचेत अवस्थामा भेटिएकी मुनाको उपचारका क्रममा स्टार अस्पतालमा मृत्यु भएको थियो।

टाउकामा लागेको गम्भीर चोटका कारण निधन भएको चिकित्सकले बताएका छन्। महानगरीय प्रहरी परिसरका अनुसार चौधरीले मुनालाई हिर्काएर अचेत बनाई आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। घरमा रहेको सिसी टिभीको दृश्यमा समेत सोही कुरा पुष्टि हुने प्रहरीले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्