सभामुखद्वारा चार विधेयक प्रमाणित, प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइयो

Machchapuchchre

काठमाडौँ । दुवै सदनबाट पारित भएर लामो समयदेखि प्रमाणित हुन बाँकी चार विधेयक सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएका छन् ।

संसदको चौथो अधिवेशनले पारित गरेका प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धका व्यवस्था गर्न बनेको विधेयक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भूमि सम्बन्धी आठौँ संशोधन विधेयकमा सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका निम्ती पठाइएको प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले जानकारी दिए ।

यी विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि तोकिएको समयमा लागु हुनेछन् । औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि भने थप छलफल गर्नुपर्ने भएकाले प्रमाणीत नगरिएको योगीले बताए । उक्त विधेयक दुवै सदनबाट पारित भएर आउँदा पनि दफाक्रम नमिलेकाले कसरी प्रमाणित गर्ने भन्नेबारे छलफल पछि मात्रै प्रमाणित गर्ने तयारी भएको छ ।

‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमका व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रपतिबाट स्वीकृत भएपछि प्रदेश प्रहरी गठनको काम सुरु हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्