दलहरुले आ–आफ्नो अडान नछाड्दा प्रदेश २ को नाममा सहमति जुटेन

Machchapuchchre

जनकपुरधाम । प्रमुख दलहरुले आ–आफ्नो अडान नछाड्दा प्रदेश २ को नामबारे सहमति जुट्न सकेन । स्थायी राजधानी जनकपुरधामलाई तोक्न सहमत दलहरु नामाकरण सन्दर्भमा भने विभाजित भएका हुन् । प्रदेशको नाम र स्थायी राजधानीबारे सहमति जुटाउन गठित संसदीय विशेष समितिको सोमबार बसेको बैठकमा दलहरुले आफ्नो अडान दोहोर्‍याएका छन् ।

सत्तारुढ समाजवादी–राष्ट्रिय जनता दल (राजपा)ले प्रदेशको नाम ‘मधेश’ राख्ने प्रस्ताव दर्ता गराउँदा प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जानकी र नेपाली कांग्रेसले मिथिला–भोजपुरा राख्नुपर्ने प्रस्ताव दर्ज गराएको थियो । कांग्रेसका केही सांसदले मध्य मधेश नाम राख्न प्रस्ताव गरेका छन् ।

सोमबारको बैठकमा दलगत रुपमा दर्ता भएको प्रस्तावमाथि छलफल भएको थियो । ‘मधेश’, ‘जानकी’ र ‘मिथिला–भोजपुरा’ नाममा छलफल भएको राजपाका प्रमुख सचेतक परमेश्वर साहले जानकारी दिए । उनकाअनुसार नेताहरुले आफ्नै अडान राखेपनि चाँडो नामांकरण टुंग्याउनुपर्छ भन्नेमा भने सहमत देखिएका छन् ।

नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले पनि राजनीतिक सहमतिबाट प्रदेशको नामाकरण चाँडो गर्नुपर्ने बताए । समितिको अर्को बैठक माघ १८ गतेका लागि बोलाइएको छ । उक्त बैठकमा प्रदेशसभामा भएका प्रमुख चार दलका प्रदेशस्तरीय शीर्ष नेताहरुलाई बोलाएर प्रदेशको नाम सम्बन्धमा छलफल गरिनेछ ।

प्रदेशको राजधानी र नाम तोक्न प्रदेशसभामा दुई तिहाई मत चाहिन्छ । तर यो कुनै पनि दलसँग छैन । सत्तारुढ समाजवादी र राजपालाई आफ्नो प्रस्तावमा सहमति जुटाउन विपक्षी नेकपा र कांग्रेसमध्ये एकको साथ चाहिन्छ । विपक्षी कांग्रेस र नेकपा मिल्दा पनि सत्तारुढ गठबन्धनको एक दलले साथ दिनुपर्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्