प्रदेश ५ संसदको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, नाम र राजधानी टुंग्याउने तयारी

Machchapuchchre

बुटवल । प्रदेश ५ को हिउँदे अधिवेशन आजबाट सुरु हुने भएको छ । बजेट अधिवेशन सकिएको ४ महिनापछि हिउँदे अधिवेशन सुरु हुन लागेको हो । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिस र प्रदेश प्रमुख धर्मनाथ यादवको आह्वानमा आजबाट हिउँदे अधिवेशन बोलाइएको प्रदेश ५ प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठक दिउँसो १ बजे बस्नेछ । यसअघि गत जेठ २ गते सुरु भएर असोज २ मा बजेट अधिवेशन सकिएपछि यहाँको संसद् ‘विजनेस’विहीन अवस्थामा गुज्रिएको थियो । आइतबार आह्वान गरिएको हिउँदे अधिवेशनको पहिलो दिन शुभकामना मन्तव्य राख्ने कार्यक्रम रहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

संसद्मा प्रस्तुत हुने एजेन्डाबारे भने कार्यपरामर्श समितिले निर्णय गर्ने उनले बताए । देशका ७ प्रदेशमध्ये ४ वटाले नाम र राजधानी टुंगो लगाइसकेका छन् । तर प्रदेश १ र २ सँगै ५ ले अझै नाम र स्थायी राजधानी टुंग्याउन सकेको छैन ।

हिउँदे अधिवेशनले प्रदेशको नाम र स्थायी राजधानी टुंग्याउने प्रदेश ५ सरकारका प्रवक्ता एंव भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बताए । सरकारले आजबाट सुरु हुने हिउँदे अधिवेशनमा ६ वटा विधेयक पठाउने तयारी गरेको मन्त्री चौधरीको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्