कांग्रेसको आरोप – सरकारले सीजी कम्युनिकेसनमाथि प्रतिशोधपूर्ण व्यवहार गर्‍यो

Machchapuchchre

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका सांसद विनोद चौधरीको सीजी कम्युनिकेसनमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएको छ ।

सम्पूर्ण प्रक्रिया पूरा गरेको र कुनै वक्यौता नरहेको औद्योगिक घरानाप्रति सरकारले गरेको व्यवहारलाई पार्टीले दुःखद् रुपमा लिएको प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन् ।

‘सरकारले नै गत वर्ष आयोजना गरेको लगानी सम्मेलनमा सरकारकै उपस्थितिमा विदेशी साझेदारसँग सीजी कम्युनिकेसनले सम्झौता गरेको, सम्पूर्ण प्रकृया पूरा गरिएको र कुनै वक्यौता रकम नरहेको स्थितिमा प्राधिकरणमार्फत प्रक्रिया टुंग्याएर अनुमति दिनुपर्ने विषय स्वयं सरकारकै प्राथमिकतामा नपर्नु कुनै निश्चित पूर्वाग्रह देखिन्छ,’शर्माद्वारा शनिवार जारी विज्ञप्तिमा भनिएको छ, ‘नियतबस गरिएको यस्तो भेद र निरुत्साहित गर्ने प्रयत्नप्रति नेपाली कांग्रेस खेद प्रकट गर्दछ।’

विज्ञप्तिमार्फत शर्माले नेपालमा इन्टरनेटको मूल्य दक्षिण एशियामै महँगो रहेकोले निजी क्षेत्रलाई प्रोत्साहित गरेर सस्तो र सहज बनाउने दिशामा अघि बढ्न सरकारलाई सुझाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्