निसीखोला पुगेर देउवाले भने – ‘पश्चिम बागलुङलाई छुट्टै जिल्ला बनाउनुपर्ने स्थानीयको माग जायज’

Machchapuchchre

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बागलुङलाई टुक्र्याएर दुई जिल्ला बनाउने पश्चिम बागलुङका सर्वसाधारणलाई पार्टीले समर्थन गर्ने बताएका छन् । कांग्रेसले आज बागलुङको निसीखोलामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै देउवाले जनताको मागअनुसारकै संरचना हुनुपर्ने भन्दै पश्चिम बागलुङको मागमा आफ्नो पार्टीको समर्थन रहने बताएका हुन् ।

पश्चिम बागलुङलाई छुट्टै जिल्ला बनाउनुपर्ने भन्दै कांग्रेस त्यस क्षेत्रमा क्रियाशील नेताहरुले बेलाबेलामा आवाज उठाउँदै आएका छन् । अहिले देशभर चलिरहेको राष्ट्रियताको सङ्घर्षमा सरकारले सोचेजस्तो पहलकदमी नगरेको बताउँदै देउवाले कूटनीतिक तवरबाट सिमानाको विवाद टुङ्गो लगाउनुपर्नेमा जोड दिए ।

बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा उपनिर्वाचनको प्रचारप्रसारका सिलसिलामा आयोजना भएको आमसभामा देउवाले उत्तरगङ्गा जलाशययुक्त आयोजना बागलुङतर्फ नै बनाउनका लागि आफूले पहल गर्ने बताए । “उत्तरगङ्गा कहाँ बन्ने भन्नेमा विवाद रहेको छ”, उनले भने, “यो आयोजना बागलुङतर्फ नै बनाउनका लागि हाम्रो दलले पहल गर्छ ।”

मध्यपहाडी लोकमार्गको कामलाई तीव्र बनाउन र सालझण्डी ढोरपाटन लोकमार्गको काम थालनीका लागि पार्टीले दबाब सिर्जना गर्ने उनको भनाइ थियो । पश्चिम बागलुङसँग जोडिएका गौरवका आयोजना ओझेलमा रहेको भन्दै देउवाले जनताको हितमा हुनै जुनसुकै काममा कांग्रेसले साथ दिने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्