Artharajniti ~ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई एकै रातमा सखाप पार्न सक्ने चेतावनी दिएका छन्। ट्रम्पले मंगलबार सम्ममा ‘स्ट्रेट अफ हर्मुज’ नखोले इरानका सबैखाले भौतिक पूर्वाधारमा प्रहार गर्ने धम्की दिँदै आएका छन्। उनले दिएको समयसीमा सकिन लाग्दा इरानलाई एकै रातमा ध्वस्त पार्न सक्ने धम्की दिएका हुन्।‘पूरै देशलाई एकै रातमा सखाप पार्न सकिन्छ। र त्यो रात भोलि नै हुन सक्छ,’ ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग भने।अमेरिकासँग इरानका प्रत्येक पुलहरू ध्वस्त पार्ने योजना भएको पनि उनले दाबी गरे। ‘केही घण्टाभित्रै इरानका हरेक पावर प्लान्टहरू काम नलाग्ने हुनेछन्, जल्नेछन्, विष्फोट हुनेछन् र फेरि कहिल्यै प्रयोगमा आउने छैनन्,’ उनले थपे। अमेरिकाले युद्धपछि इरानको तेल नियन्त्रण गर्ने घोषणा गरेका छन्। ‘विजेताकै हातमा लुटको धन हुन्छ,’ उनले जिकिर गरे।ट्रम्पले दिएको समयसीमा अघि नै ४५ दिने युद्धविराम गराउन मध्यस्थकर्ताहरूले अन्तिम प्रयास गरिरहेका छन्। तर त्यो प्रयास सफल हुने संभावना कम हुँदै गएको मानिन्छ। युद्ध रोक्न पाकिस्तान, इजिप्ट र टर्कीले अन्तिम प्रयास गरिरहेका छन्। साथै ट्रम्पका विशेष दूत स्टिभ विटकफ र इरानका विदेश मन्त्री अब्बास अराग्ले पनि एक अर्कालाई ‘टेक्स्ट मेसेज’ पठाइरहेका छन्। हर्मुज पूर्ण रूपमा पुनः सञ्चालन गर्न र इरानको आणविक हतियार कार्यक्रमबारे भने दोस्रो चरणको अन्तिम शान्ति सम्झौतामा मात्रै सहमति हुनेछ।
इरानलाई एकै रातमा ध्वस्त पार्न सक्ने ट्रम्पको धम्की



